जनकपुर — मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेको छ। नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आइतबार अबेर राति संविधानको धारा १६८(३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। भण्डारीले नियुक्तिपत्र प्रदान गरेलगत्तै काठमाडौं प्रस्थान गरेकी छन्। पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) का अनुसार नियुक्ति प्रक्रिया सिन्धुली–महोटरी सिमानास्थित एक होटलमा सम्पन्न भएको हो। भण्डारीले आफू अस्वस्थ रहेको कारण जनाउँदै राजधानी फर्किएको बताइएको छ।
तर, सोनलले भने सामाजिक सञ्जालमार्फत प्रदेश प्रमुखको कदमप्रति तीव्र असन्तोष जनाएका छन्। फेसबुकमा भिडियोसहित प्रतिक्रिया दिंदै उनले लेखेका छन् , ‘मधेस प्रदेशका जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुखले सिमानाको होटलमै प्रदेशको अस्मिता समाप्त पार्ने खेल गरिन्।’ निवर्तमान मुख्यमन्त्री सोनलले केही दिनअघि विश्वासको मत लिने क्रममा राजीनामा दिएका थिए।
प्रदेश सभामा अहिले एमाले २५ सिट सहित सबैभन्दा ठूलो दलको रूपमा छ। सभामुखमा रामचन्द्र मण्डल चयन भएका छन् भने धनुषाका प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका छन्। यादवले अब गठबन्धनको समर्थन जुटाउँदै मन्त्रिपरिषद् गठनको तयारी थालेका छन्। मधेसको राजनीतिले फेरि एक पटक अप्रत्याशित मोड लिएको विश्लेषकहरूको टिप्पणी छ।

प्रतिक्रिया दिनुहोस्