Skip to content

लन्डनमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन, भोलिपल्ट लिँदै थिए सर्टिफिकेट

लन्डन — बेलायतमा अध्ययनरत एक नेपाली विद्यार्थीको सुतेकै अवस्थामा निधन भएको छ। सल्यानको भल्चौर–७ का २६ वर्षीय योमन चन्द मंगलबार बिहान लन्डनको एजवेयरस्थित आफ्नो कोठामा मृत फेला परेका हुन्।

एक वर्षअघि मात्र अध्ययनका लागि बेलायत पुगेका चन्द युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी इन कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनरत थिए। उनी सोमबारमात्र आफ्नो अन्तिम परीक्षा पूरा गरी भोलिपल्ट (मंगलबार) प्रमाणपत्र लिन तयारीमा थिए। चन्दसँगै बस्ने मनोज कुँवरका अनुसार सोमबार बिहान उनी अलि अस्वस्थ महसुस गर्दै ‘टाउको दुखेको छ, अलि उल्टी पनि भयो’ भनेका थिए। मनोजका भनाइमा, सामान्य पेटको समस्या होला भन्ने ठानेर उनीहरुले गम्भीर रुपमा नलिएको बताए। त्यसै दिन दिउँसो उनी साथीहरूसँग सेन्ट्रल लन्डन गएर नेपाली रेष्टुरेन्टमा म:म: खाएर फर्केका थिए। राति ११ बजे घर आइपुगेपछि खाना खाएर सुतेका उनी बिहान उठेनन्।

मनोज भन्छन्, “सधैंझैं बिहान ७ बजे काममा जाने उसलाई ७:४० बजेसम्म पनि नउठेपछि हात समाएँ, तर शरीर चिसो भइसकेको रहेछ।” उनले तुरुन्तै एम्बुलेन्स बोलाए र स्वास्थ्यकर्मीको निर्देशनमा सिपीआर समेत गरे। तर, कुनै प्रतिक्रिया आएन। स्वास्थ्यकर्मीको टोलीले जाँच गर्दा चन्दको ब्लड सुगर लेभल २ मात्र रहेको बताएको मनोजले जानकारी दिए। “सुगर लेभल अत्यन्त न्यून भएकोले शरीरले प्रतिक्रिया दिन नसकेको रहेछ,” उनले भने।

मंगलबार बिहान ९:३० बजे स्वास्थ्यकर्मीले उनलाई मृत घोषित गरेको थियो। प्रहरीले घटनालाई ‘नेचुरल डेथ’ (स्वाभाविक मृत्यु) मानेर थप प्रक्रिया सिआइबी र फरेन्सिक टिमलाई जिम्मा लगाएको छ। पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको ठ्याक्कै कारण सार्वजनिक हुने बताइएको छ।

एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले चन्दको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवार, विश्वविद्यालय र समुदायसँग समन्वयमा अन्त्येष्टीको व्यवस्था गरिने जनाएका छन्। स्वर्गीय चन्दको निधनले लन्डनस्थित नेपाली विद्यार्थी समुदाय स्तब्ध बनेको छ। उनका साथीहरू र विश्वविद्यालयका प्रतिनिधिहरूले उनको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गर्ने तयारी गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्