काठमाडौँ — संयुक्त राज्य अमेरिकाले हरेक वर्ष अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डाइभर्सिटी भिसा (डिभी) लोटरी आवेदन खुलाउने गर्छ। तर, यस वर्ष उक्त समयसीमा पार हुँदै जाँदा पनि आवेदन खुल्न सकेको छैन।
अहिलेसम्म डिभी लोटरी आवेदन नखुल्नुको कारण प्रशासनिक र प्रविधिक समस्या रहेको बताइन्छ। अमेरिकाले केही समयका लागि डिभी प्रक्रिया अस्थायी रूपमा स्थगित गरेको हो। परराष्ट्र मन्त्रालयको सूचनाअनुसार अबको सात दिनदेखि एक महिनाभित्र जुनसुकै समयमा पनि आवेदन खुल्न सक्छ डिभी कार्यक्रम बन्द भएको होइन। केवल प्रक्रियागत ढिलाइ मात्रै भएको हो।
१. शुल्क व्यवस्थापनको तयारी
अहिलेसम्म डिभी आवेदन निःशुल्क रहँदै आएको थियो। तर यस वर्षबाट १ अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था ल्याइँदैछ। उक्त शुल्क कसरी र कहाँ भुक्तान गर्ने भन्ने प्रावधान अझै तय नभएकाले आवेदन सुरु गर्न ढिलाइ भएको हुनसक्छ।
२. अमेरिकी सरकारको बजेट र प्रशासनिक अवरोध
हाल अमेरिकी संसदले बजेट पारित गर्न ढिलाइ गरेपछि सरकारी निकायका केही सेवा र कार्यक्रमहरू अस्थायी रूपमा बन्द भएका छन्। यसको असरले डिभी लोटरी आवेदन प्रक्रियामा पनि ढिलाइ गरेको अनुमान गरिएको छ।सरकार पुनः सञ्चालनको क्रममा छ, त्यसैले डिभी आवेदन पनि अब चाँडै खुल्ने सम्भावना छ।
१२ कक्षा पास अनिवार्य
डिभी आवेदनका लागि न्यूनतम शैक्षिक योग्यता १२ कक्षा उत्तीर्ण (हाईस्कुल पास) हुनुपर्छ। १२ कक्षा पास नगरेका व्यक्तिले आवेदन नदिन पनि कानुन व्यवसायीले सुझाव दिएका छन् । कानुन व्यावसायीका अनुसार, ‘अयोग्य भएर आवेदन दिए पनि पछि अस्वीकृत हुन्छ, त्यसैले योग्यताअनुसार मात्रै आवेदन दिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्