Skip to content

डोल्पाबाट उद्धार गरिएका ५ प्रहरीको स्वास्थ्य अवस्था बुझ्न आईजिपी कार्की अस्पतालमा

काठमाडौँ — डोल्पामा अत्यधिक चिसो र निरन्तरको हिमपातका कारण स्वास्थ्य जटिल बनिरहेका पाँच जना प्रहरीलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ। उपचारको लागि नेपाल प्रहरी अस्पताल भर्ना गरिएका उनीहरूको स्वास्थ्य अवस्था बुझ्न प्रहरी महानिरीक्षक (आईजिपी) दानबहादुर कार्की शुक्रबार अस्पताल पुगे। अस्पतालमा उपचाररत प्रहरीहरूसँग प्रत्यक्ष भेटेर स्वास्थ्यबारे जानकारी लिँदै आईजिपी कार्कीले समयमै उद्धार कार्य सम्पन्न भएकोमा खुसी व्यक्त गरे। उनले चिकित्सकहरूसँग उपचारको प्रगति, आवश्यक सहयोग तथा थप व्यवस्थाबारे छलफल गरेका थिए। सोही अवसरमा आईजिपी कार्कीले अस्पतालमा उपचाररत अन्य बिरामी प्रहरी कर्मचारी तथा आफन्तहरूसँग पनि भेटघाट गर्दै उपचार व्यवस्थाबारे चासो व्यक्त गरेका थिए। नेपाल प्रहरीको जनसेवा तथा आफ्ना सदस्यप्रति उत्तरदायित्वलाई निरन्तरता दिने उद्देश्यले यस किसिमको नियमित अवलोकन जारी रहने उनले बताए।

प्रतिक्रिया दिनुहोस्