Skip to content

एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स आमनेसामने

 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच रोमाञ्चक भिडन्त हुँदैछ। लिगको महत्वपूर्ण मानिएको यस खेलमा दुबै टिम जितका लागि उच्च मनोबलका साथ मैदान उत्रिन लागेका छन्। सुदूरपश्चिम रोयल्सले आजको खेलमार्फत लिगको आफ्नो दोस्रो जित दर्ता गर्ने लक्ष्य राखेको छ। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको टीमले बलियो ब्याटिङ–बलिङ संयोजनका साथ प्रतिस्पर्धा गर्नेछ। रोयल्सको पक्षमा विदेशी खेलाडी जोश ब्राउन, स्कट कुग्गेल्जिन जस्ता अनुभवी खेलाडीहरूको उपस्थिति टिमको बल बनेको छ। त्यसैगरी इशान पाण्डे, हेमन्त धामी, अविनाश बोहरा र विनोद भण्डारी घरेलु खेलाडीका रूपमा प्रभावशाली प्रदर्शन गर्न सक्षम मानिन्छन्।

उता, पोखरा एभेन्जर्सलाई भने लिगको पहिलो जित हात पार्ने ठूलो अवसर रहेको छ। कप्तान कुशल भुर्तेलको नेतृत्वमा रहेको टिम जीतका लागि आक्रामक योजनासहित मैदानमा उत्रन तयार छ। पोखरा टिममा घरेलु तथा विदेशी खेलाडीहरूको उत्कृष्ट मिश्रण रहेको छ। अकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री, र विकेटकिपर एडम रोसिङटन जस्ता खेलाडीसँग पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई चुनौती दिनसक्ने अनुमान गरिएको छ। लिगमा हिजो सम्पन्न खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले हराएको थियो। सो परिणामसँगै अंक तालिका प्रतिस्पर्धात्मक बन्दै गएको छ र आजको खेलले लिगको समीकरणलाई झनै रोचक बनाउने अपेक्षा गरिएको छ। एनपीएलको दोस्रो चरणमा प्रवेश गर्न दुबै टिमका लागि आजको खेल महत्वपूर्ण मानिँदैछ। समर्थकहरुले पनि कीर्तिपुर मैदानमा उच्च स्तरीय प्रतिस्पर्धा हेर्ने अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्