नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शनिबार बस्ने तय छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो १ बजे बस्नेगरी केन्द्रीय समिति बैठक बोलाइएको छ। महाधिवेशनबारे सहमति नजुट्दा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पटक-पटक स्थगित हुँदै आएको छ। पछिल्लो पटक बिहीबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो। कात्तिक २७ गतेबाट केन्द्रीय समिति बैठक पटक पटक सर्दै आएको छ। नेताहरूले धारणा राख्ने क्रम सकिएकोले निर्णय लिनुपर्ने भए पनि सहमति नजुट्दा बैठक पटक पटक स्थगित हुँदै आएको हो। केन्द्रीय समिति बैठकअघि विभिन्न समूहका बैठक बसेर आ-आफ्ना अडान प्रस्तुत गरेका थिए भने विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका थिए।
फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद छ भने विशेष महाधिवेशन कि नियमित भन्ने पनि विवाद छ। यस्ता विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पहल गरे पनि अहिलेसम्म निकास निस्केको छैन। असोज २८ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काबाहेक सबैले धारणा राखिसेका छन्। सभापति देउवाले अरू नेताहरूसँग छलफल गरे पनि महामन्त्री गगन थापासँग कुराकानी गरेका छैनन्। महामन्त्री थापा अब विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्। उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाले पनि साथ दिएका छन्। कोइरालाले पुसभित्रै महाधिवेशन गर्न नसके केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने बताएका छन्। सभापति देउवा पक्षका केही पदाधिकारी र पूर्वपदाधिकारी भने वैशाखमा महाधिवेशन गर्ने गरी बहुमतबाट निर्णय लिनुपर्नेमा छन्। तर सभापति देउवा र कार्यवाहक सभापति खड्काले बहुमतबाट नभई सर्वसम्मत रूपमा निर्णय लिनुपर्ने भन्दै पटक पटक बैठक स्थगित गर्दै आएका छन्।





प्रतिक्रिया दिनुहोस्