Skip to content

आउने निर्वाचनमा धेरै युवालाई अवसर दिन्छौँ: प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा युवाहरूलाई अवसर दिने बताएका छन् । वाईसीएल नेपालले शनिवार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उनले पार्टी र देशको आगामी नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने बताएका हुन् । उनले पार्टीभित्र पनि आगामी चुनावमा बढीभन्दा बढी युवालाई अवसर दिनेबारे गम्भीर छलफल भइरहेको जानकारी दिए । पार्टी कमिटीहरूमा समेत युवाको सहभागिता उल्लेख्य बनाउने तयारी भइरहेको उनको भनाई छ । उनले युवालाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा नेतृत्वका लागि तयार पार्ने प्रतिबद्धता पनि जनाए । वर्तमान पुस्ताले अब नयाँ पुस्ताको नेतृत्व निर्माणमा लाग्ने सङ्कल्प र सपना देख्नुपर्ने उनको भनाई छ ।

उनले युवा पुस्ताका माग र आफूहरूको मागमा धेरै समानता देखिएको बताए । विगतमा भएका गल्ती, कमजोरी स्वीकार गर्ने, आत्मसमीक्षा गर्ने र युवाहरूको स्पिरिटअनुसार आफूलाई बदल्ने र नयाँ ढङ्गले नेपाल निर्माण गर्ने नयाँ सङ्कल्प लिने परिस्थिति पनि युवाहरूले पैदा गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्