Skip to content

प्रधानमन्त्री कार्कीको सचिवालयले भन्यो : कर्मचारी नियुक्तिलाई गलत व्याख्या नगर्नू

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिसम्बन्धी प्रकाशित–प्रसारित सामग्रीप्रति प्रधानमन्त्री कार्यालयको गम्भीर ध्यानाकर्षण भएको सचिवालयले जनाएको छ। प्रेस संयोजक रामबहादुर रावलले विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएका हुन्। प्रधानमन्त्री कार्की मितव्ययिता, पारदर्शिता र जवाफदेहितामा संवेदनशील रहँदै आएको उल्लेख गर्दै सचिवालयमा अत्यन्त न्यून जनशक्तिबाट काम सञ्चालन हुँदै आएको दाबी गरिएको छ।

प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधिअनुसार प्रमुख स्वकीय सचिव प्रधानमन्त्री स्वयंले नियुक्त गर्ने व्यवस्था रहेको स्मरण गराउँदै सोही अधिकार प्रयोग गरी विश्वासिलो व्यक्तिलाई नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री कार्कीको परिवारमा श्रीमान् मात्र रहेको र दुवैजना वृद्ध भएकाले पारिवारिक तथा सुरक्षाका कारण नजिकबाट सहयोग गर्न सक्ने विश्वासिलो व्यक्तिलाई नियुक्त गर्नुपरेको बताइएको छ। चौबीसै घण्टा साथमै रहेर काम गर्नुपर्ने भएकाले कानुनी रूपमा सम्भव नियुक्तिलाई अनावश्यक रूपमा गलत व्याख्या नगर्न आग्रह गरिएको छ। यसबाहेक अन्य नियुक्तिहरूमा ‘नातेदारी’ को आरोप लगाइएको भन्दै प्रेस संयोजक रावलले तथ्यविहीन दाबी नफैलाउन अनुरोध गरेका छन्। थर वा जातीय पृष्ठभूमिमात्र मिलेकै आधारमा नातेदार ठहर्याई प्रचार गर्ने अभ्यास गलत भएको विज्ञप्तिमा उल्लेख छ।

कार्यविधिअनुसार प्रधानमन्त्रीले सात जना सल्लाहकार राख्न सक्ने भए पनि हाल २ जना मात्र नियुक्त रहेको र १९ दरबन्दीमध्ये ४ जना मात्र विज्ञ कर्मचारी नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ। स्वकीय सचिवालयमा ४१ दरबन्दी भए पनि १४ मात्र कार्यरत रहेको र कुल ६७ दरबन्दीमध्ये हाल २० जनाको मात्र सचिवालय गठन गरिएको जनाइएको छ। विगतका सरकारले प्रायः सबै पदपूर्ति गरेकामा वर्तमान सरकारले अत्यावश्यक कामका लागि न्यूनतम जनशक्ति मात्र राखेको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्