काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा सह–परीक्षा नियन्त्रक नियुक्ति प्रक्रियामा पीएचडी सम्बन्धी झुटो विवरण प्रयोग भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारजना अध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले सह–परीक्षा नियन्त्रक पदका लागि आवेदन दिने क्रममा विद्यावारिधि (पीएचडी) उपाधि नपाईकन झुटो दाबी पेश गर्ने सहप्राध्यापक डिल्लीराम प्रसाईं तथा उक्त विवरण जाँचबिना स्वीकार गर्ने तीनजना प्राध्यापक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
मुद्दामा परेकोमध्ये प्रसाईंले पीएचडी उपाधि ‘प्राप्त गरेको’ भनी आफ्नो नामअगाडि “डा.” लेखेर प्रमाणपत्रहरू पेश गरेका थिए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारमा ‘विज्ञका रूपमा सहभागी’ भएको दाबी गर्दै सम्बन्धित कागजातहरू पनि पेश गरेका थिए। तर अनुसन्धानले उनीहरूले दाबी गरेको मिति–सम्म पीएचडी उपाधि प्राप्त नभएको पुष्टि गरेको छ।
सह–परीक्षा नियन्त्रक छनौट समितिमा संयोजकका रूपमा प्राध्यापक डा. जया लक्ष्मी प्रधान तथा सदस्यका रूपमा प्राध्यापक डा. मोतिलाल शर्मा र प्राध्यापक डा. मेधराज पोखरेल रहेका थिए। अख्तियारका अनुसार प्रसाईंले पेश गरेको झुटो विवरण उनीहरूले पर्याप्त रूपमा जाँचबुझ नगरी स्वीकार गरी छनौट प्रक्रियामा अघि बढाएको ठहर गर्दै उनीहरूमाथि पनि मुद्दा दायर गरिएको हो। अख्तियारले सार्वजनिक गरेको अभिलेखअनुसार प्रसाईंले २०७९ भदौ २७ गते विद्यावारिधिको अन्तिम मौखिक परीक्षा दिए पनि उपाधि भने २०७९ माघ २९ मा मात्र प्राप्त गरेका थिए। तर उनले सोभन्दा अगावै आफू पीएचडी गरेको भनी कागजात तयार पारी पदको प्रतिस्पर्धामा ८ अंकको अतिरिक्त लाभ लिन प्रयास गरेको अनुसन्धानले देखाएको छ।
पदपूर्ति प्रक्रियामा शंका उत्पन्न भएपछि डीन कुशुम शाक्यको अध्यक्षतामा बनेको अनुसन्धान समितिले प्रसाईंको शोधपत्र अन्तिम रूपमा स्वीकृत नभएको र उनी उपाधि प्राप्तकर्ता नठहरिने निष्कर्ष निकालेको थियो। अख्तियारले झुटो विवरण पेश गरेर पदको लाभ लिन खोजेको तथा सो विवरण जाँचबिना स्वीकार गरेको आरोपमा प्रसाईंसहित चारजना विरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको जनाएको छ। अख्तियारले यसलाई शैक्षिक क्षेत्रको संवेदनशील पदमा नीतिविरुद्ध भएको गम्भीर कार्य भन्दै आवश्यक कानुनी कारबाही अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्