जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आज विश्वासको मत लिँदै छन् । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएपछि प्रदेश सभा बिहान साढे ८ बजे बस्नेछ ।
गत कात्तिक २४ गते एमाले संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको थियो। तर बर्दिवासको होटलमा झिसमिसे बिहान विवादास्पद ढंगले शपथ खुवाइएको भन्दै गठबन्धन दलहरूले रिट दायर गर्दा सर्वोच्चले मत परीक्षणको आदेश दिएको हो ।यसअघि सात दलीय गठबन्धनका नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने अवस्था बनेपछि राजीनामा दिएका थिए ।
विश्वासको मत पाउने सम्भावना कमजोर
१०७ सदस्यीय प्रदेश सभामा विश्वास कायम राख्न ५४ मत आवश्यक हुन्छ । तर एमालेसँग सभामुखसहित २५ सांसद मात्रै छन्, जसमा एकजना निलम्बित छन्। उसँग नेपाल संघीय समाजवादी र राप्रपा गरी दुई सांसदको मात्र साथ छ। राप्रपाले मन्त्री बनेकी कञ्चन बिच्छाको सांसद पद खारेज गर्न प्रदेश सभामा पत्र पठाइसकेको छ । उता सात दलको गठबन्धन स्थिर देखिन्छ, जसको संख्या ७३ छ— कांग्रेस २२, जसपा नेपाल १८, जनमत १३, माओवादी ९, लोसपा ८, एकीकृत समाजवादी ७ र नागरिक उन्मुक्ति पार्टी १ । यो अंकगणित हेर्दा मुख्यमन्त्री यादवले आज विश्वासको मत प्राप्त गर्ने अवस्था दुर्लभ देखिन्छ।




प्रतिक्रिया दिनुहोस्