काठमाडौं – शाहब आलमको सानदार रेकर्ड–ब्रेकिङ बलिङ प्रदर्शनपछि काठमान्डु गोर्खाज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गर्ने दोस्रो टिम बनेको छ । बिहीबार कीर्तिपुरमा भएको दिनको पहिलो खेलमा काठमान्डुले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै प्लेअफ यात्रा पक्का गरेको हो। यस जितसँगै काठमान्डुले ७ खेलबाट ५ जित र २ हारसहित १० अंक जोड्दै दोस्रो स्थान सम्हालेको छ । अब बाँकी खेलका नतिजाले मात्र काठमान्डु शीर्ष दुईमा रहने/नरहने टुंगो लाग्नेछ।
पोखराको प्लेअफ यात्रा कठिन
६ खेलमा चौथो हार बेहोरेको पोखरा एभेन्जर्स ४ अंकमै सीमित भएको छ । अब उसका लागि प्लेअफ सम्भावना निकै चुनौतीपूर्ण बनेको छ। १६६ रनको लक्ष्य पछ्याएको पोखराले पूरा २० ओभर खेल्दा १० विकेट गुमाएर १५२ रन बनाउन मात्र सक्यो।
शाहब आलमको ह्याट्रिकसहित ६ विकेट
काठमान्डुका शाहब आलम खेलको अभुतपूर्व आकर्षण बने। उनले २०औं ओभरको पहिलो तीन बलमै लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे। उनले ४ ओभरमा २५ रन खर्चेर ६ विकेट हात पारे — यो सिजनमा पहिलोपटक कुनै बलरले ६ विकेट लिएको उपलब्धि हो।
कप्तान करण केसी र सन्नी पटेलले पनि २–२ विकेट लिए।
पोखराका ऋषि धवनको अर्धशतक पनि व्यर्थ
पोखराका ऋषि धवनले उत्कृष्ट ५४ रन प्रहार गरे भने धनन्जय लक्षनले ३० रन जोडे। दुवैले पाँचौं विकेटका लागि ७६ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे पनि साझेदारी टुटेपछि रन गति घट्दै गएको थियो।
चार्ल्सवर्थ–भीमको अर्धशतक, काठमान्डुको बलियो स्कोर
टस हारेर ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनायो । ओपनर बेन चार्ल्सवर्थले ५५ बलमा ५ चौका र २ छक्का सहित ६४ रन बनाए र इनिङ्सको मेरुदण्ड बने । सातौँ नम्बरमा आएका भिम शार्कीले १९ बलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्दै ५५ रनको धमाकेदार योगदान दिए । दुवैले छैटौँ विकेटका लागि ७६ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याए । बलिङमा पोखराका धनन्जय लक्षन सबैभन्दा प्रभावकारी रहँदै ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए।




प्रतिक्रिया दिनुहोस्