काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन जारी राख्दै शीर्ष दुईमा स्थान बनाएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो खेलमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार छैटौँ जित निकाल्दै क्वालिफायरमा प्रवेश पक्का गरेको हो । पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १६९ रन बनाएको थियो । १७० रनको लक्ष्य पछ्याउन उत्रिएको चितवन १७.१ ओभरमै १२० रनमा समेटियो। चितवनका कुनै पनि ब्याटरले प्रभाव जमाउन सकेनन्। ओपनर अर्जुन साउद १६ रनमा आउट भए भने स्टार विदेशी खेलाडी डेभिड मलान र सइफ जइबले समान ६–६ रन मात्र जोड्न सके । रवी बोपाराले २९, कप्तान कुशल मल्लले १५ र देव खनाले २८ रन जुटाए तर टोलीलाई जितसम्म पुर्याउन सकेनन् ।
क्रिस लिनको चम्किलो इनिङ्स
सुदूरपश्चिमका ओपनर क्रिस लिनले उत्कृष्ट ब्याटिङ गर्दै ५७ बलमा ७५ रन जोडे। उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । लिन १७औँ ओभरमा रिटायर्ड हट भए। विनोद भण्डारीले २१ रन, पुनित मेहराले १३ रन जोडे। इशान पाण्डे र हर्मित सिंह १–१ रनमै पेभिलियन फर्किए। अन्त्यतिर कप्तान दीपेन्द्रसिंह ऐरीले १४ बलमा नटआउट २४ रन र आरिफ शेखले पनि १६ बलमा नटआउट २४ रन थपे । चितवनका सइफ जइबले २ विकेट लिए भने जर्ज स्कृमश र रञ्जित कुमार स्कृमशले १–१ विकेट हात पारे । सुदूरपश्चिमका पुनित मेहराले ३ महत्वपूर्ण विकेट लिए। उनको घातक बलिङका कारण मध्यक्रममा चितवन दयनीय अवस्थामा पुगेको थियो ।
प्लेअफमा तीन टोली पक्का
सुदूरपश्चिमको जितसँगै विराटनगर किंग्स पनि प्लेअफमा प्रवेश गरेको छ। यसअघि नै काठमाडौं गोर्खाजले प्लेअफ स्थान पक्का गरिसकेको थियो। अब सुदूरपश्चिम, काठमाडौं र विराटनगर गरी तीन टोली प्लेअफमा पुगिसकेका छन्।
एक स्थानका लागि तीव्र प्रतिस्पर्धा
प्लेअफको अन्तिम (चौथो) स्थानका लागि चितवन राइनोज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा रहनेछ । भोलि लुम्बिनीले जनकपुरलाई पराजित गरे प्लेअफमा पुग्नेछ र चितवन, पोखरा तथा जनकपुर प्रतियोगिताबाट बाहिरिनेछन् ।
यदि लुम्बिनी पराजित भए भने बाँकी टोलीहरूको सम्भावना जीवित रहनेछ । चितवनले आफ्नो अन्तिम खेल पोखरासँग खेल्नेछ भने जनकपुरले कर्णालीसँग प्रतिस्पर्धा गर्नेछ। लुम्बिनीले हार व्यहारेको अवस्थामा यी टोलीले जित निकाल्नै पर्नेछ।




प्रतिक्रिया दिनुहोस्