Skip to content

एमाले महाधिवेशनमा सिन्धुपाल्चोकबाट टासी लामा केन्द्रीय सदस्यका दावेदार

 

काठमाडौं – नेकपा एमालेको आगामी एघारौँ महाधिवेशनमा सिन्धुपाल्चोकका लोकप्रिय नेता तथा पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामा केन्द्रीय सदस्यका बलियो उम्मेदवारका रूपमा अगाडि बढेका छन् । लगातार दोस्रो कार्यकाल गाउँपालिकाको नेतृत्व सम्हालिरहेका लामा स्थानीय तहमा अत्यन्तै लोकप्रिय नेताका रूपमा परिचित मानिन्छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयं पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भव्य भवन उद्घाटन गर्न पुगेका बेला लामाको खुलेर प्रशंसा गरेका थिए । त्यही अवसरमा ओलीले टासीको कार्यसम्पादन र जनताको बीचमा रहेको प्रभावलाई विशेष रूपमा उल्लेख गरेका थिए । महाधिवेशन प्रतिनिधि छानिँदा समेत उनले उच्च लोकप्रिय मत प्राप्त गरेका थिए, जसले उनको संगठनात्मक बलियो पकड झनै स्पष्ट भएको छ ।

ह्योल्मो समुदायबाट पार्टी नेतृत्वमा प्रतिनिधित्व बढाउने उद्देश्यले पनि टासी लामालाई केन्द्रीय समितिमा लैजाने प्रक्रिया अघि बढाइएको एमाले जिल्ला कमिटीका एक सदस्यले बताए । विद्यार्थी आन्दोलनदेखि पार्टी संगठनमा सक्रिय रहेर संघर्ष गर्दै आएका टासी लामालाई जुझारु र कर्मशील नेता मानिन्छ । सिन्धुपाल्चोकका प्रमुख नेताहरू समेत लामालाई केन्द्रीय तहसम्म पुर्‍याउन सामूहिक रूपमा लागेको स्रोतको दाबी छ। महाधिवेशन नजिकिँदै जाँदा उनी केन्द्रीय सदस्यमा बलियो संभावनासहित चर्चाको केन्द्रमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्