हुम्ला — अदानचुली गाउँपालिका–१ स्थित जनकल्याण आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रणसिंह परियार सर्वसम्मत रूपमा चयन भएका छन्। व्यवस्थापन समिति अध्यक्षका लागि ६ जना आकांक्षी रहे पनि परियारले स्वयं नेतृत्व लिन इच्छा गरेपछि अन्य सबै दावेदार पछि हटे। विद्यालयका प्रधानाध्यापक परबहादुर थापाका अनुसार परियारको आकांक्षा सार्वजनिक भएपछि समितिले उनलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउने निर्णय गरेको हो।
सुर्खेतमा रहेका परियारले प्रधानाध्यापक थापालाई टेलिफोन गरी विद्यालय व्यवस्थापन समिति अध्यक्षमा रहन चाहेको बताएका थिए। त्यसपछि विद्यालय प्रशासन र स्थानीय सरोकारवालाबीच छलफल गरी सर्वसम्मत निर्णय गरिएको प्रधानाध्यापक थापाले जानकारी दिए। तत्कालीन माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित परियारलाई मुख्यमन्त्री यामलाल कँडेलले विनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरेका थिए।




प्रतिक्रिया दिनुहोस्