काठमाडौँ – लामो समयसम्म अंतरराष्ट्रिय राजनीति, कूटनीति, सुरक्षा, कानून र मानवअधिकार क्षेत्रमा ख्याति कमाएका दार्चुलाका धर्मानन्द जोशीले अब सक्रिय राजनीतिमा प्रवेश गर्ने संकेत गरेका छन् । जीवनका विविध कठिन बाटो, संघर्ष र अन्तरराष्ट्रिय अनुभव समेट्दै जोशीले अब समाजसेवा, लोकतन्त्र, सुशासन, शान्ति र भ्रष्ट्राचारविरुद्धको अभियानलाई संगठित रूपमा अघि बढाउने स्पष्ट संकेत दिएका हुन् । जोशीले भने, “अब समय आएको छ, सबैको हित सुनिश्चित गर्न, द्वेष–इर्ष्या कम गर्न, नेपालीबीच हातेमालो बढाउन र सुशासनयुक्त, भ्रष्ट्राचारमुक्त नेपाल निर्माणमा प्रत्यक्ष रूपमा लाग्ने ।” विविध देशमा सरकारी तथा अन्तरराष्ट्रिय संयन्त्रसँग काम गरिसकेका जोशीले राजनीतिमा प्रवेशलाई “जीवनको अन्तिम र सबभन्दा महत्वपूर्ण परीक्षा” भन्दै जनताको साथ–समर्थन मागेका छन् ।
स्थानीयस्तरमा सामाजिक उत्तरदायित्व र इमानदार छविका रूपमा परिचित जोशीले “जिरो टलरेन्स अन करप्सन, सुशासन, सकारात्मक राजनैतिक परिवर्तन र सामाजिक लोकतन्त्र लाई आफ्नो प्रमुख एजेन्डा बनाउने संकेत गरेका छन् । उनको सक्रिय राजनीतिक यात्रा औपचारिक रूपमा कहिले सुरु हुन्छ भन्ने यकिन कुरा आउन बाँकी रहे पनि दार्चुलामा उनको प्रवेशलाई उत्सुकतापूर्वक हेरिएको छ । उनले कुन पार्टी र संगठनबाट आउने भन्ने खुलाएका छैनन् । यद्दपी जोशी लोकतान्त्रिक धारको अबिचलित वकालत गर्दै आएका छन् । राणा शासन बिरुद्ध प्रजातन्त्रको लडाइ लडेका प्रथम जननिर्बाचित प्रधानमन्त्री विपी कोइराला र नेपाली प्रजातान्त्रिक आन्दोलनबाट प्रभावित उनी नेपाली काँग्रेस निकट रहेको बुझिएको छ ।




प्रतिक्रिया दिनुहोस्