मकवानपुर – मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीमा नेपाली कांग्रेस बागमती गाउँपालिका वडा इकाइ समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेला तथा सम्मान कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले पार्टीभित्र एकता अबको अपरिहार्यता भएको स्पष्ट गरे। देश निर्वाचनमा प्रवेश गरिसकेकाले कांग्रेसभित्र अनावश्यक विवाद र अन्तरघातले संगठन कमजोर बनाउने चेतावनी दिँदै उनले भने— “योग्य व्यक्तिलाई पार्टीले टिकट दिन्छ, टिकट नपाउनेले पनि पार्टीको पक्षमै उभिनुपर्छ । अन्तरघात अब सह्य हुँदैन।”
उनले लोकतन्त्रका लागि कांग्रेसले निर्वाह गरेका ऐतिहासिक संघर्ष स्मरण गर्दै अब आर्थिक समृद्धिको नेतृत्व पनि कांग्रेसले नै गर्ने दाबी गरे । २००७ सालको प्रजातान्त्रिक क्रान्तिदेखि पञ्चायती निरङ्कुशता हटाउने आन्दोलन, माओवादी हिंसात्मक द्वन्द्वको समाधानसम्म कांग्रेस निरन्तर अग्रसर रहेको उल्लेख गर्दै बानियाँले जनताको सेवाका लागि कांग्रेस बनेको पार्टी रहेको बताए । मुख्यमन्त्री बानियाँले मकवानपुर–ललितपुर जोड्ने मोटरेवल पुल निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले कांग्रेस सबैलाई समेट्न सक्ने समावेशी पार्टी भएको उल्लेख गर्दै विकासका योजनामा कुनै विभेद हुन नदिने बताए । उनका अनुसार बाटो, पुलदेखि स्थानीय विकासका सबै योजनामा कांग्रेस नेतृत्व जिम्मेवार रुपमा अगाडि बढ्नेछ ।समारोहमा ४० जना अगुवा कार्यकर्तालाई सम्मान गरिएको थियो। कार्यक्रममा कांग्रेस जिल्ला सहसचिव इन्दिरा न्यौपाने, क्षेत्रीय सभापति दामोदर खनाललगायत नेताहरूको उपस्थिति थियो।




प्रतिक्रिया दिनुहोस्