काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला) मुनु महावरले मङ्गलवार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारतबिचको द्विपक्षीय सम्बन्ध, आपसी हितका मुद्दा तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे विस्तृत कुराकानी भएको गृह मन्त्रालयले जनाएको छ।
नेपाल आइपुगेका अतिरिक्त सचिव महावरले निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गर्न भारतले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए। साथै, निर्वाचनका लागि आवश्यक स्रोत साधन तथा सुरक्षा निकायलाई आवश्यक सामग्री उपलब्ध गराउनेतर्फ ध्यान दिने आश्वासन पनि दिएका छन्।
भेटमा उनले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण र अन्य विपद् प्रभावित संरचनाको पुनर्स्थापनामा सहयोग गर्ने आश्वासन व्यक्त गरे। भैरहवामा निर्माण भइरहेको एकीकृत जाँच चौकी (ICP) र नेपालमा भारतीय लगानीमा सञ्चालन भइरहेका परियोजनाहरूलाई समयमै सम्पन्न गर्न सहायता गर्ने विषयमा पनि भारत पक्षले सकारात्मक धारणा व्यक्त गरेको छ। महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणका लागि औपचारिक निम्तोसमेत दिएका छन्।
गृहमन्त्री अर्यालले दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गर्दै वर्तमान सरकार सुशासन, कानुन कार्यान्वयन, सेवा प्रवाह सुधार र अपराध नियन्त्रणमा प्रभावकारी ढंगले काम गरिरहेको बताए।
उनले सीमा क्षेत्रमा हुने अपराध, चोरी–डकैती, अवैध तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै मुलुकका सुरक्षा निकायबीच सूचनाको आदानप्रदान र क्षमता अभिवृद्धि आवश्यक रहेकोमा जोड दिए।
त्यस्तै, गृहमन्त्री अर्यालले काभ्रेको पनौतीमा निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको कामलाई पनि दुवै पक्षको सहकार्यमा छिटो अघि बढाउनुपर्नेमा ध्यानाकर्षण गराए।




प्रतिक्रिया दिनुहोस्