Skip to content

जेनजी शहीदका अधुरा सपना पूरा गर्नु सरकारको प्रमुख दायित्व: गृहमन्त्री अर्याल

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका शहीदहरूका अधुरा सपना पूरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना गर्नु नै सरकारले वहन गर्नुपर्ने प्रमुख दायित्व भएको बताएका छन्।

मङ्गलवार साँझ बानेश्वरमा हालैको आन्दोलनमा शहीद भएका जेनजी शहीद योद्धाको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले हरेक शहीदको बलिदानलाई सम्मानपूर्वक आत्मसात् गर्दै उनीहरूले देखाएको मार्गलाई संस्थागत रूपमा अघि बढाउने सरकारले संकल्प लिएको बताए। उनका अनुसार जेनजी आन्दोलनकै जगमा निर्मित वर्तमान सरकार शहीद तथा घाइते परिवारलाई राज्यले गर्न सक्ने सबै प्रकारका सुविधा, सहुलियत र सहयोग प्रदान गर्ने प्रतिबद्धतामा दृढ रहेको छ।

कार्यक्रमका क्रममा मन्त्री अर्याल शहीद परिवारका सदस्यहरूसँग केहीबेर बसेर उनीहरूको गुनासा, चासो र आवश्यकताबारे सुनेका थिए। उनले ती माग तथा समस्याहरूलाई व्यवस्थित रूपमा सम्बोधन गर्न मन्त्रालयबाट आवश्यक पहल थालिने आश्वासन पनि दिए। दीप प्रज्वलन कार्यक्रममा शहीद परिवार, जनप्रतिनिधि, विभिन्न नागरिक समूहका प्रतिनिधि तथा स्थानीयवासीको सक्रिय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्