काठमाडौं — नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि अघिल्लो परिपत्रअनुसार नै उम्मेदवार सिफारिस गर्न मातहतका संरचनालाई कडाइका साथ निर्देशन दिएको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिहरूले पार्टीले तोकेको मापदण्ड विपरीत सिफारिस प्रक्रिया अघि बढाएको जानकारी पाएपछि कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार नयाँ परिपत्र जारी गर्दै सिफारिस कार्य विधि र संख्या दुबैमा निर्धारित मानक पालना गर्न आग्रह गरेको हो।
मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा भनिएको छ, “तोकिएको मापदण्ड र तोकिएको संख्यामा पार्टीको परिपत्र तथा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित) बमोजिम उम्मेदवारको सिफारिस गर्नुहुन पुनः गम्भीर ध्यानाकर्षण गराइन्छ।” यसअघि कांग्रेसले मंसिर १५ र १७ मा पटक–पटक परिपत्र जारी गर्दै प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि, साथै राष्ट्रियसभा सदस्य सिफारिसका लागि स्पष्ट मापदण्ड तोकेको थियो। अघिल्लो परिपत्र अनुसार प्रत्यक्षतर्फ पार्टी विधानको धारा ३०, ३३(२) तथा ६९ अनुसार योग्यता भएका व्यक्तिमध्ये बढीमा एक महिला सहित तीन जनाको नाम मात्र सिफारिस गर्न भनिएको थियो भने समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई आधार मानेर कम्तीमा एक महिला सहित बढीमा दुई जनाको सिफारिस गर्न भनिएको थियो । यस्तै राष्ट्रियसभा मातहतका जिल्लाबाट प्राप्त सम्भावित नाममध्ये एक सिटका लागि तीन जनासम्म सिफारिस गरी केन्द्रमा पठाउने व्यवस्था छ। तर हाल क्षेत्रीय तथा जिल्ला कार्यसमितिहरूले केन्द्रले तोकेको सीमा र मापदण्डभन्दा बाहिर गएर उम्मेदवारको सिफारिस गरेका कारण कांग्रेसले पुनः कडाइका साथ निर्देशन जारी गरेको हो। पार्टी स्रोतका अनुसार मापदण्ड उल्लंघन भएर सिफारिस प्रक्रिया विवादित बन्दै गएपछि केन्द्रीय कार्यालयले समयमै सच्याउन र निर्वाचन प्रक्रिया एकरूप बनाउन यस प्रकारको ध्यानाकर्षण पठाएको बताइएको छ।




प्रतिक्रिया दिनुहोस्