Skip to content

काँग्रेस नेता शेर्पाको चेतावनी : “लोकतान्त्रिक अधिकार खोस्न कसैलाई दिँदैनौं”

काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको छ । कांग्रेसका महासमिति सदस्य तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पार्टी नेतृत्वको निर्णयप्रति तीव्र आपत्ति जनाउँदै आफूलाई रोक्न नसकिने स्पष्ट चुनौती दिएका छन् । शेर्पाले निर्वाचन लड्न रोक्ने प्रयासहरू ‘मनोमानी’ भएको आरोप लगाउँदै भने, “नेपाली कांग्रेसले हामी युवाहरूलाई रोक्दै लोकतान्त्रिक अधिकार अवरुद्ध गर्न मिल्दैन। कुनै पनि नियम–कानुनमा हामीलाई चुनाव लड्न रोक्ने प्रावधान छैन। कसैले पनि रोक्न सक्दैन।”

आफूमाथि रोक लगाउने प्रयास भइरहेको दाबी गर्दै उनले यसरी थपे, “यदि रोक्नै भनेको हो भने, समान मापदण्ड सबैमा लागू होस्—संघीय सभासद् रहेका सबैलाई समेत रोक्नुस् । केवल छानेर केही व्यक्तिमाथि मात्र रोक लगाउने मनोमानी अब चल्दैन ।” शेर्पाले आफू चुनावी प्रतिस्पर्धाबाट पछि नहट्ने प्रष्ट सन्देश दिएका छन् । “निमा ग्याल्जेन चुनाव लड्नबाट पछि हट्दैन। पार्टीले जुन निर्णय गरे पनि गरोस्, मैले आफ्नो लोकतान्त्रिक अधिकार कहिल्यै छोड्दिन,” उनको भनाइ छ । गाउँपालिका तथा प्रदेशमा पदमा ‘बहाल रहेकाहरू’लाई चुनाव लड्न नदिने मापदण्डको वैधानिकता प्रश्न गर्दै उनले सोधे, “गाउँपालिका वा प्रदेशमा बहाल रहेकालाई रोक्ने प्रावधान कुन कानुनमा छ ?” पार्टी नेतृत्वप्रति असन्तुष्टि झल्किने गरी उनले कडा चेतावनी पनि दिए“हामी तपाईंहरूको दास होइनौँ। सबै गलत निर्णय मान्दैनौँ। के गर्नु हुन्छ, गर्नुहोस् ।” आसन्न चुनाव नजिकिएसँगै कांग्रेसभित्रको असन्तुष्टि र आन्तरिक खटपट सतहमा आउन थालेको विश्लेषण भइरहेका बेला शेर्पाको यो कडा अभिव्यक्ति पार्टीभित्र थप बहसको विषय बन्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्