दार्चुला — नेपाली कांग्रेस दार्चुलाले मंसिर २५ गतेदेखि सुरु भएको जिल्ला कार्यसमिति बैठकमार्फत प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि सिफारिस सूची सार्वजनिक गरेको छ । बैठकले प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ दार्चुलाबाट पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ । बैठकमा बडूको नेतृत्व र जनसंपर्कलाई आधार मानेर सर्वसम्मत सिफारिस गरिएको कांग्रेस दार्चुलाले जनाएको छ । नेता बडूले दार्चुलाबाट २०४८ सालदेखि संसदीय निर्वाचन लड्दै आएका छन् । ३ पटक प्रत्यक्ष निर्वाचन जितेका बडूले संसदको कुनै पनि कार्यकाल पुरा गर्न पाएका छैनन् । नेता बडू केन्द्रीय राजनीतिमा समेत बलियो पकड भएका नेताका रुपमा परिचित छन् । प्रतिनिधि सभाको समानुपातिक तर्फ भने करबिरसिंह कार्की र आनन्दी पन्त भट्ट (महिला) लाइ सिफारिस गरिएको छ।
यस्तै जिल्ला कार्यसमितिको बैठकले राष्ट्रिय सभाका लागि पनि उम्मेदवार सिफारिस गरेको छ । महादेव बडु, गणेशराज भट्ट र चन्द्रसिंह सामन्तलाई पुरुषतर्फ सिफारिस गरिएको छ भने महिलातर्फ द्रोपती डागा, विसन्ता सिनाल, शान्ति कार्की र देउमा लोथ्याललाई सिफारिस गरिएको नेपाली कांग्रेस दार्चुलाले जनाएको छ । जिल्ला कांग्रेसका अनुसार सिफारिस गरिएका उम्मेदवारहरूको अन्तिम छनोट केन्द्रिय समिति र संसदीय बोर्डले गर्नेछ ।




प्रतिक्रिया दिनुहोस्