काठमाडौं — नेकपा एमालेका युवा नेता हरदेव जोशी आगामी महाधिवेशनमार्फत पुनः केन्द्रीय सदस्य दोहोरिने तयारीमा छन्। “दशौं महाधिवेशनमा म मनोनित केन्द्रीय सदस्य थिएँ। यसपटक भने हलबाटै निर्वाचित भएर दोहोरिन चाहन्छु,” जोशी भन्छन्, “दार्चुलाको पार्टी निर्माणमा मैले खेलेको भूमिकाभन्दा अझ सक्रिय भूमिका भूगोलबाट निर्वाचित भएपछि निर्वाह गर्नेछु।” दार्चुलाबाट ठूलो संख्यामा युवाहरू रोजगारीको खोजीमा भारत जाने यथार्थसँगै आफू पनि पढ्दै–कमाउँदै भारत प्रवासमा लामो समय बिताएको जोशीले बताए। भारत बसाइँका क्रममा अखिल भारत स्वतन्त्र विद्यार्थी युनियनमार्फत नेपाली विद्यार्थीलाई एमालेमा संगठित गर्न उनले महत्वपूर्ण भूमिका खेलेका छन् । “२०४९ सालमा मदन भण्डारी दार्चुला आउनु भएको थियो। उहाँको भाषणले मलाई एमालेप्रति अझ प्रतिबद्ध बनायो,” ४९ वर्षीय जोशी भन्छन्, “अबको एमाले युवाको एमाले हुनुपर्छ, त्यसका लागि हाम्रो पुस्ता नेतृत्वमा जानैपर्छ।”
जोशीले आगामी महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको निरन्तरताको स्पष्ट पक्षमा धारणा राखेका छन्। जेन–जी आन्दोलन वा अन्य बहानामा अध्यक्ष ओलीमाथि भएका आरोप र प्रहारलाई महाधिवेशनले खारेज गर्ने उनको विश्वास छ। “एमाले हाँक्न सक्ने मात्र होइन, समग्र नेपाली राजनीतिको नेता चाहिन्छ,” उनी भन्छन्, “त्यस अर्थमा एमालेभित्र मात्र होइन, समकालीन राजनीतिमै पनि ओलीको विकल्प छैन।” जोशी २०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको सचिवालयमा काम गरिसकेका नेता हुन्। इमान्दार र बौद्धिक छविका रूपमा परिचित जोशीले आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने नेताको छवि बनाएका छन्। २०७९ सालको प्रदेशसभा निर्वाचनमा दार्चुलाबाट उम्मेदवार बनेका उनी गठबन्धनसँग झिनो मतान्तरले पराजित भए । “राजनीतिमा सधैं जित मात्र हुँदैन, निरन्तरता नै मुख्य कुरा हो,” उनको भनाइ छ । अघिल्लो महाधिवेशनको अनुभवले यसपटक काम गर्न अझ सहज हुने जोशीको विश्वास छ। “पार्टीभित्र उठाउनुपर्ने धेरै मुद्दा छन्, ती मुद्दा सरकारमार्फत सम्बोधन गराउनुपर्ने आवश्यकता छ,” उनी भन्छन्, “रोजगारीको खोजीमा हजारौं दाजुभाइ दिदीबहिनी कालापहाड जान बाध्य हुनु जनजीविकाको गम्भीर सवाल हो। यी मुद्दालाई मुख्य एजेन्डा बनाएर पार्टीलाई जनतासँग अझ बलियो रूपमा स्थापित गर्न म सधैं तयार छु ।” कालापानी–लिपुलेकको राष्ट्रिय मुद्दादेखि रोजगारी र जनजीविकासम्मका सवाललाई केन्द्रमा राख्दै अघि बढिरहेका हरदेव जोशीलाई एमालेभित्र सुदूरपश्चिमको प्रभावशाली युवा नेताका रूपमा हेरिन थालिएको छ ।




प्रतिक्रिया दिनुहोस्