Skip to content

पाँचपोखरी थाङपालका ‘लगातार विजेता’ लामा एमाले केन्द्रीय राजनीतिमा उदाउँदै, यस्तो छ राजनीतिक यात्रा

काठमाडौं — नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका लामा स्थानीय शासन र पार्टी संगठन दुवै क्षेत्रमा स्थापित नेताका रूपमा उदाएका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्षसमेत रहेका उनले लगातार दुई कार्यकाल अध्यक्षमा जित हासिल गर्दै जनमतको बलियो भरोसा प्राप्त गरेका छन् ।

वि.सं. २०३३ असार १९ गते जन्मिएका लामा स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेका बौद्धिक र संगठनप्रेमी नेता हुन् । विद्यार्थी राजनीतिदेखि स्थानीय तहको नेतृत्वसम्म आइपुग्दा उनले पार्टीका विभिन्न तहमा निरन्तर योगदान दिँदै आएका छन् । लामाको राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु भएको हो। वि.सं. २०४८ देखि २०५१ सम्म अनेरास्ववियु सिन्धुपाल्चोकको जिल्ला कमिटी सदस्य रहेका उनी २०५१ देखि २०५३ सम्म जिल्ला कमिटी अध्यक्षको जिम्मेवारीमा रहे। २०५१ सालमै पार्टीको संगठित सदस्यता प्राप्त गरेका उनले त्यसयता एमाले संगठन विस्तार र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेका छन् । पार्टी संगठनमा उनी चार कार्यकालसम्म नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य र तीन कार्यकाल बागमती प्रदेश कमिटी सदस्य रहिसकेका छन्। यस्तै, पहिचान र समावेशी आन्दोलनमा समेत सक्रिय लामाले लोकतान्त्रिक ह्योल्मो संघको केन्द्रीय अध्यक्ष दुई कार्यकाल पूरा गरेका छन् भने लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य, उपमहासचिव हुँदै केन्द्रीय उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालेका छन् । आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकका अध्यक्ष तथा नेपाल ह्योल्मो समाज सेवा संघका केन्द्रीय सचिवका रूपमा पनि उनले उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

२०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुँदै लामाले विकास, सुशासन र समावेशी नेतृत्वको अभ्यासमार्फत आफूलाई सफल कार्यकारी नेतृत्वका रूपमा स्थापित गरेका छन् । स्थानीय सरकारको नेतृत्वमा रहँदा शिक्षा, पूर्वाधार, पर्यटन प्रवर्द्धन र सामाजिक समन्वयलाई प्राथमिकतामा राखेर काम गरेको उनको दाबी छ । ११औँ महाधिवेशनमार्फत केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका लामा स्थानीय तहमा परीक्षण भइसकेको नेतृत्व अनुभवलाई अब केन्द्रीय राजनीतिमा उपयोग गर्ने तयारीमा छन् । पार्टीभित्र संगठन, समावेशिता र जनआधारित विकासको आवाज बलियो बनाउने उनको प्रतिबद्धताले एमालेभित्र नयाँ पुस्ताका जिम्मेवार नेताको रूपमा उनको उपस्थितिलाई अर्थपूर्ण बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्