काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंको भृकुटीमण्डपमा बसेको छ । यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले धारणा राखेका छन् भने अहिले पोलिटव्युरो र स्थायी कमिटी तथा केन्द्रीय सदस्यहरूले बोलेका छन् । अध्यक्ष ओली पक्षका नेताहरूले बैठकमा विधान संशोधनको प्रस्ताव राखेका छन् । अध्यक्ष ओलीले विधान संशोधन प्रस्ताव नराखी उनी पक्षका नेता खिमलाल भट्टराईलगायत नेताहरूले फ्लोरबाट विधान संशोधन प्रस्ताव राख्न थालेका हुन् । गए राति भएको छलफलमा ओली पक्षका नेताहरूले फ्लोरबाट विधान संशोधन प्रस्ताव राख्ने कुरा गरेको एक नेताको दाबी छ ।
कतिपय केन्द्रीय सदस्यहरूले ३०१ वा ३५१ सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्ने र स्थायी कमिटीसहित चारै तहको संरचना बनाउनुपर्ने माग गरेका छन् । ११ औं महाधिवेशन सुरू भइसकेको अवस्थामा अध्यक्ष ओलीले १० औं महाधिवेशनबाट आएको केन्द्रीय कमिटी बैठक राखेका हुन् । यो बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका नेताहरूले फ्लोरबाट विधान संशोधन प्रस्ताव आउने हो भने आफूहरूले पनि फरक अवधारणा पेस गर्न पाउनुपर्ने माग राखेका छन् । केन्द्रीय कमिटी बैठक विवादका कारण केही समय चल्न सक्ने देखिन्छ। आजै १ बजेका लागि बन्द सत्र बोलाइएको छ ।




प्रतिक्रिया दिनुहोस्