Skip to content

अपिहिमाल गाउँपालिकामा पुस ६ देखि ८ गतेसम्म छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

काठमाडौँ  – दार्चुलाको अपिहिमाल गाउँपालिकामा आगामी पुस ६ देखि ८ गतेसम्म पालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो । गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयको सहभागिता रहने गरी वडा नम्बर ४ स्थित खात्ती खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा १८ वर्षमुनिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताअन्तर्गत छात्र–छात्रा भलिबल, छात्र–छात्रा कबड्डी तथा एथ्लेटिक्सतर्फ विभिन्न खेलहरू समावेश गरिएका छन् । एथ्लेटिक्समा छात्र–छात्राका लागि १००, २००, ४००, ८००, १५०० र ३००० मिटर ट्र्याक दौड सञ्चालन हुने जनाइएको छ ।

त्यस्तै, ४×१०० मिटर र ४×४०० मिटर रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो र सटफुट प्रतियोगिता पनि सञ्चालन हुने छ । ज्याभलिन थ्रोतर्फ छात्रका लागि ८०० ग्राम र छात्राका लागि ६०० ग्राम तथा सटफुटतर्फ छात्रका लागि १२ पाउण्ड र छात्राका लागि ८ पाउण्ड तोकिएको छ । प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूको विवरण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (संशोधन सहित) को अनुसूची–१ बमोजिमको फारमसहित मिति पुस ३ गतेसम्म बुझाइसक्नुपर्ने जनाइएको छ । शैक्षिक सत्र २०८१ को एसईई परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई उक्त प्रतियोगितामा समावेश नगरिने गाउँपालिकाले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्