काठमाडौँ – नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत सोमबार पनि बन्द सत्र जारी रहनेछ । शनिबारदेखि सुरू भएको महाधिवेशनमा आइतबारदेखि सुरू भएको बन्द सत्र सोमबार पनि जारी रहनेछ । आइतबार पार्टीको निर्वाचन आयोगले निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ । जसअनुसार आज उम्मेदवारी दर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारको दराखास्त फाराम वितरण गर्ने र बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम छ । प्रकाशित कार्यतालिका अनुसार दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामवली प्रकाशन हुनेछ । सो नामावलीमा दाबी विरोध गर्न दिउँसो ३ बजेसम्मको समय राखिएको छ । उजुरी उपर छानबिन र निर्णय दिउँसो ३:१० बजेसम्म हुनेछ। उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहे दिउँसो ३:१० बजेदेखि ५ बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन बेलुका ६ बजेसम्म गर्ने कार्यतालिका रहेको छ । महाधिवेशन अन्तर्गत मतदान पुस १ गते हुनेछ ।
एमालेको ११ औं महाधिवेशन मंसिर २९ सम्म हुने तय भएको थियो । यद्यपि बन्द सत्र लम्बिँदा महाधिवेशन पनि लम्बिने भएको हो । जारी महाधिवेशनमा नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेलले समूह बनाएर प्रतिस्पर्धा गर्नेछन् । दुवै पक्ष पदाधिकारीमा उम्मेदवारको टुंगो लगाउन छलफलमै छन् । केही उम्मेदवारहरू टुंगो लागिसके पनि केही पदमा भने उम्मेदवार टुंगो लाग्न बाँकी छ ।




प्रतिक्रिया दिनुहोस्