काठमाडौँ – नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पक्षबाट पदाधिकारीका उम्मेदवारहरू टुङ्गो लगाउन सकस देखिएको छ । सीमित पदमा धेरै आकाङ्क्षी देखिएसँगै ओलीले हालसम्म आफ्नो पक्षबाट नाम सार्वजनिक गर्न सकेका छैनन् ।
अध्यक्षमा आफूले उम्मेदवारी दिने टुङ्गो लागे पनि उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायत पदमा कसले उम्मेदवारी दिने भन्ने स्पष्ट भएको छैन । नाम टुङ्ग्याउन हाल अध्यक्ष ओलीसहित उनी पक्षका नेताहरू निजी निवास गुन्डुमा छलफलमा जुटेका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज उम्मेदवारीसँग सम्बन्धित मुख्य कार्यक्रमहरू सञ्चालन हुँदैछन् । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा जारी कार्यतालिका अनुसार आज बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यस लगत्तै बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । दरखास्त दर्ता सकिएपछि दिउँसो २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । प्रारम्भिक नामावली सार्वजनिक भएपछि उम्मेदवारविरुद्ध उजुरी दिने समय दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म तोकिएको छ । सबै प्रक्रिया पूरा भएपछि आजै साँझ ६ः०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । निर्वाचन तालिकाअनुसार भोलि (मंगलबार) बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ।
यता नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने लगभग पक्का भएको एक नेताले बताए । उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको छ । अरु उपमहासचिव उम्मेदवारको नाम टुङ्ग्याइदै छ । सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम करिब टुंगो लागेको बुझिएको छ । ईश्वर पोखरेल समूहले सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि राखेको छ ।




प्रतिक्रिया दिनुहोस्