Skip to content

ओली पक्षले टुङ्ग्यायो पदाधिकारीको नाम, महासचिवमा पोखरेलको निरन्तरता र सचिवमा महेश बस्नेत

काठमाडौँ – नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै समूहले आ-आफ्नो पदाधिकारीको नाम टुंगो लगाउने क्रम जारी छ । ओली समूहबाट पाँच जना उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवालीको नाम फाइनल भएको छ । प्रदीप ज्ञवालीले महासचिवमा पनि आकांक्षा देखाएका थिए। तर उनलाई उपाध्यक्षमा सेट गराउने सहमति भएको हो । महासचिवमा शंकर पोखरेलकै नाम फाइनल भएको छ। उनले अन्तिम समयसम्म दाबी नछाडेपछि ज्ञवालीलाई उपाध्यक्षमा लगेर पोखरेललाई महासचिव बनाइएको हो। ओलीको रोजाइ पनि पोखरेल नै हुन् । उपमहासचिवतर्फ तीन जना निर्वाचित हुनेमा रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम टुंगो लागेको छ ।

सचिवमा नौ जना निर्वाचित हुन्छन् । ओली समूहबाट सचिवको उम्मेदवार बन्नेमा पद्मा अर्याल, छवि विश्वकर्मा, लेखराज भट्ट, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई फाइनल भइसकेका छन् । अर्कातिर पोखरेल समूहमा पदाधिकारी संख्या बढेपछि उम्मेदवारी छान्न खासै धेरै कसरत गर्नुपर्ने देखिँदैन । यो समूहमा पहिले नै आकांक्षी कम थिए। त्यसमाथि पदाधिकारी संख्या बढेपछि व्यवस्थापन गर्न सहज हुने पोखरेल समूहका एक नेताले बताए । यहाँ महासचिवमा सुरेन्द्र पाण्डेको नाम पक्का भइसकेको छ भने उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई फाइनल भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्