Skip to content

तेह्रथुम कांग्रेसले गर्‍यो गगन थापाको एकल नाम सिफारिस, पुर्वमन्त्री सीता गुरूङ असन्तुष्ट !

काठमाडौं – नेपाली कांग्रेस तेह्रथुम जिल्ला कार्यसमितिले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि निर्वाचित सांसदको नाम सिफारिस नगरी पार्टी महामन्त्री गगन थापाको एकल नाम सिफारिस गरेपछि जिल्ला कांग्रेसमा असन्तुष्टि देखिएको छ । रोचक पक्ष के छ भने, तेह्रथुमबाट २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकै उम्मेदवार सीता गुरूङ निर्वाचित भएकी थिइन् । उनी देशभर प्रत्यक्षतर्फ निर्वाचन जित्ने कांग्रेसकी एकमात्र महिला नेतृसमेत हुन् । तर, उनैको निर्वाचन क्षेत्रबाट महामन्त्री थापाको नाम एकल रूपमा सिफारिस गरिएको हो । कांग्रेसका अन्य जिल्लाहरू रोल्पा, धनकुटा र सर्लाहीमा महामन्त्री थापासहित अन्य नेताहरूको नाम पनि सिफारिस भएका छन्। तर, तेह्रथुममा भने गुरूङसहित अरू कुनै पनि नेताको नाम नसमेटी थापाको मात्र नाम सिफारिस गरिएपछि विवाद चर्किएको हो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी गुरूङले पार्टी महामन्त्रीको सम्मानस्वरूप अन्य जिल्लामा जस्तै बहुविकल्पसहित नाम सिफारिस भएको भए स्वाभाविक मान्न सकिने बताइन् । तर, एकल सिफारिसले थुप्रै प्रश्न उठाएको उनको भनाइ छ ।

यस विषयमा प्रतिक्रिया दिँदै गुरूङले महामन्त्री थापा विकट जिल्लामा जान चाहनु सकारात्मक भएको बताइन् । तर, उनले प्रश्न गर्दै भनिन्, “महिलाले जितेकै क्षेत्रमा गगन थापालाई किन चासो देखियो ? ०६४ सालमा सुप्रभा घिमिरेले जितेको काठमाडौं–४ मा लड्नुभयो । अहिले फेरि अर्की महिलाले जितेको क्षेत्रबाट एकल नाम सिफारिस भएपछि त उहाँ तेह्रथुम जानैपर्ने भयो ।” महिला र आदिवासी जनजाति भएकै कारण आफूहरूमाथि बेला–बेला यसरी प्रहार हुने गरेको गुरूङको आरोप छ । काठमाडौं–४ को विकल्प खोजिरहेको चर्चा चलिरहेकै बेला यदि महामन्त्री थापा तेह्रथुम आउन चाहन्छन् भने आफू काठमाडौं–४ सम्हाल्न तयार रहेको उनले बताइन् । “काठमाडौं–४ मा मेरो पनि घर छ, म त्यता सम्हाल्छु । गगनजीलाई महिलाले जितेको क्षेत्र मन पर्दोरहेछ,” उनले व्यंग्य गरिन् । ०७० सालमा कांग्रेसबाट निर्वाचित २३ महिला सांसदमध्ये काठमाडौं–४ र धादिङबाहेक अन्य २१ जनालाई निरन्तरता दिइएको स्मरण गराउँदै गुरूङले पार्टीको निर्णयप्रति प्रश्न उठाइन् । यता महामन्त्री गगन थापाले भने आफू यसअघि निर्वाचित काठमाडौं–४ बाटै आगामी निर्वाचन लड्ने बताइसकेका छन्। काठमाडौं–४ क्षेत्रीय समितिले पनि थापाको नाम एकल रूपमा सिफारिस गरेको जनाएको छ । तेह्रथुम कांग्रेसका जिल्ला सभापति अर्जुनबहादुर तुम्बाहांफेका अनुसार महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो। संविधानसभा सदस्य तुलसी सुब्बाको कारबाही फुकुवा नभएकाले उम्मेदवार कसलाई बनाउने भन्ने छलफल भएको र त्यसै क्रममा थापाको नाम अगाडि आएको उनले बताए । तेह्रथुममा प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको छ। उक्त क्षेत्रबाट २०७९ को निर्वाचनमा कांग्रेसकी सीता गुरूङ निर्वाचित भएकी थिइन् । यस्तै, तेह्रथुमबाट समानुपातिकतर्फ सात जनाको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्