काठमाडौं – नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले वर्तमान सरकार निर्वाचन गराउनेतर्फ गम्भीर नदेखिएको आरोप लगाएका छन्। सरकारको मुख्य ध्यान चुनावको तयारीभन्दा पनि मन्त्रीमण्डल विस्तारमै केन्द्रित रहेको उनको टिप्पणी छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँगको कुराकानीमा खतिवडाले सरकारको प्राथमिकता निर्वाचन नभई मन्त्री बनाउने प्रक्रियामा सीमित भएको बताए । उनका अनुसार सरकार मन्त्री चयन गर्दा विवादित र भ्रष्टाचारका आरोप लागेका व्यक्तिहरूलाई प्राथमिकता दिइरहेको देखिन्छ। सरकारमा केही मन्त्रीहरू काम गर्न सक्ने जस्ता देखिए पनि समग्र रूपमा सरकारको ध्यान निर्वाचनको तयारीमा केन्द्रित नभएको खतिवडाको धारणा छ। उनले सरकारले चुनाव गराउने स्पष्ट दिशा र इच्छाशक्ति देखाउन नसकेको उल्लेख गरे । यता नेपाली कांग्रेस भने आम निर्वाचन र पार्टी महाधिवेशनको तयारीमा तीव्र गतिमा लागेको उनले बताए। महाधिवेशनका लागि पार्टीले हाल क्रियाशील सदस्य नवीकरण तथा वितरणको कामलाई अघि बढाइरहेको जानकारी पनि उनले दिएका छन् ।




प्रतिक्रिया दिनुहोस्