Skip to content

दार्चुलाका चार नेताको एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी

दार्चुला – दार्चुलाबाट चार जना नेताले काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा (एमाले) को एघारौं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, हरदेव जोशी, प्रेमसिंह धामी र धर्मानन्द सिंह मन्यालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वमन्त्री ठगुन्नाले सुरुमा पदाधिकारीमा दाबी गरे पनि अन्ततः केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दिएका छन् । ठगुन्ना यसअघि पोलिटब्युरो सदस्य थिए भने जोशी यसअघि सम्पन्न १० औँ महाधिवेशनमा केन्द्रीय सदस्य मनोनित भएका नेता हुन् । ठगुन्ना र जोशीले अध्यक्ष केपी शर्मा ओली निकट समूहबाट उम्मेदवारी दिएका छन् । प्रेमसिंह धामी र धर्मानन्द सिंह मन्यालले भने औपचारिक रूपमा कुन पक्षबाट उम्मेदवारी दिएका हुन् भन्ने खुलाएका छैनन् । यद्यपि, दुवै नेता ओली निकट नै रहेको बुझिएको छ । धामी र मन्याल २०७४ सालको स्थानीय तह निर्वाचनमा क्रमशः नौगाड गाउँपालिका र अपिहिमाल गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा भने दुवै पराजित भएका थिए । धामी यसअघि नेकपा एमाले दार्चुलाका पूर्व अध्यक्ष समेत रहिसकेका छन् । महाधिवेशनमार्फत पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन हुने क्रममा दार्चुलाबाट चार नेताको उम्मेदवारीले जिल्लामा राजनीतिक चासो बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्