Skip to content

रैथाने खाना र खाद्य सेवाको स्वच्छता प्रवर्धनमा काठमाडौँ महानगरपालिका

काठमाडौँ – नारायण चौरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको रैथाने मौलिक खाद्य स्वच्छता मेलामा राखिएका परिकारमा महानगरबासीको रुचि देखियो । ३१ औँ महानगर दिवसको अवसर पारेर महानगरपालिकाले खाद्य सेवालाई गुणस्तरीयता बढाउन सहभागिता र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको मेलामा यस्तो अवस्था देखिएको हो । मेलामा ४९ वटा खानाका स्टल थिए ।

मेलामा नेवारी परिकारहरु चटामरी, झुकु, चाकु यमरी, खुवा यमरी, छोइला, अण्डा बारा, मिक्स बारा, फोक्सो, मःम, समयबजी, हाकु छोयला, आलु अचार, मस्यौरा छोयला जस्ता परिकारहरू राखिएका थिए । यसैगरी लिम्बू समुदायका सेर्गेम्बा, याङ्बेन सेट, फाक्सा सेट, गुन्द्रुकको अचार, वाम्युक फिलिङ्गे अचार, चाम्रे सेट लगायतका परिकार थिए । फापरको फुलौरा, मकैको फ्याप्लो, कोदोको रोटी, अनादी मसला, बट्टाइ तारेको, कुराउनीको स्वाद पस्किएको थियो । पूर्वी तराईका राजवंशी समुदायले बिहानको खाजाका रूपमा खाने भक्का परिकार मेलाको आकर्षण थियो । जनकपुर तावा माछा, खट्टेको भुजा, मुलाको अचार र लोकल टमाटरको चट्नी सेटको स्वादमा आगन्तुकहरु झुम्मिएका थिए । मेलामा महानगरपालिकाभित्रका २४ वटा वडा र अन्य खाद्य तथा आतिथ्यता सेवाबाट परिकार राखिएका थिए । एउटा स्टलमा करिब ५ सय व्यक्ति पुगेर खानाका बारेमा सोधखोज गरेको कृषि तथा पशुपन्छी विभागका फुड टेक्नोलोजिष्ट भारती अधिकारीको भनाइ छ । स्टलहरुले ५० हजार रुपियाँसम्मको विक्री गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्