काठमाडाैँ – नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशन आज निर्णायक चरणमा प्रवेश गरेको छ । नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानलाई पार्टीको आन्तरिक लोकतन्त्रको महत्वपूर्ण परीक्षा मानिँदैछ । यही सन्दर्भमा पार्टीका वरिष्ठ नेता प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर शानदार मतका साथ विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अपिल गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै ज्ञवालीले यो महाधिवेशन केवल संगठनात्मक प्रक्रियामा सीमित नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिका लागि समेत दूरगामी अर्थ राख्ने ऐतिहासिक क्षण भएको उल्लेख गरे । उनले पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक मजबुती र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढाउन ओली नेतृत्वको निरन्तरता अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
यसै अवसरमा नेता ज्ञवालीले आफू पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवार रहेको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरे । “म सधैँ कमरेडहरूकै बीचमा छु र भविष्यमा पनि त्यहीँ रहनेछु,” भन्दै उनले कार्यकर्ता र प्रतिनिधिसँगको भावनात्मक सम्बन्ध र राजनीतिक प्रतिबद्धता पुनः दोहोर्याए । एमालेको भावी नेतृत्व र आगामी राजनीतिक दिशालाई निर्धारण गर्ने यस निर्णायक मतदानले पार्टीलाई थप एकताबद्ध, सशक्त र जनउत्तरदायी बनाउने विश्वास नेताहरूले व्यक्त गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्