काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिद्वारा आयोजित खेलकुद सप्ताह–२०८२ विविध खेल प्रतियोगिता तथा पुरस्कार वितरण समारोहसहित नेरीक एकेडेमीमा भव्य रूपमा सम्पन्न भएको छ । मंसिर २२ गतेदेखि पुस १ गतेसम्म सञ्चालन भएको उक्त खेलकुद सप्ताहमा फुटसल, बास्केटबल, कबड्डी र तानडोरी विधामा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा काठमाडौँ जिल्लाभरका १३९ भन्दा बढी निजी विद्यालयका कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
प्रतियोगिताको नतिजाअनुसार फुटसलतर्फ निर्मल ज्योति स्कुल विजेता बनेको छ। कबड्डीतर्फ छात्र समूहमा ज्ञानभूमि स्कुल र छात्रा समूहमा भीमेश्वर स्कुलले उपाधि जितेका छन्। बास्केटबलमा हिमाली स्कुल विजयी हुँदा तानडोरी प्रतियोगितामा छात्रतर्फ एलिगेण्ट र छात्रातर्फ माइलस्टोन स्कुल प्रथम भएका छन्। विजयी टिम तथा खेलाडीलाई ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै नेशनल प्याब्सन काठमाडौँका अध्यक्ष अमृतकुमार खड्काले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस्ता कार्यक्रमले विद्यार्थीमा अनुशासन, नेतृत्व र सहकार्यको भावना विकास गराउने उल्लेख गरे । त्यसैगरी नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवाष न्यौपानेले निजी विद्यालयहरू शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको शारीरिक र सामाजिक विकासप्रति पनि उत्तिकै उत्तरदायी हुनुपर्नेमा जोड दिए ।
खेलकुद सप्ताहअन्तर्गत आयोजित मार्चपास प्रतियोगितामा एपेक्स स्कुल प्रथम, सगरमाथा स्कुल द्वितीय र निर्मल ज्योति स्कुल तृतीय स्थानमा रहन सफल भए। विभिन्न विद्यालयका खेल मैदान उपलब्ध गराई प्रतियोगिता सञ्चालनमा सहयोग पुर्याउने विद्यालयहरू, खेल संयोजक, शिक्षक तथा स्वयंसेवकहरूको भूमिकाको आयोजक समितिले प्रशंसा गरेको छ । कार्यक्रमका प्रायोजकका रूपमा युनिक पब्लिकेशन, शुभकामना पब्लिकेशन, ट्रीटन कलेज र नेरीक एकेडेमी रहेका थिए। आयोजकका अनुसार खेलकुद सप्ताहले विद्यालय तहमा खेल संस्कृतिको प्रवर्द्धन गर्दै विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धा, अनुशासन र सहकार्यको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको छ ।





प्रतिक्रिया दिनुहोस्