Skip to content

हसिनालाई फिर्ता पठाउन माग गर्दै ढाकामा भारतविरुद्ध प्रदर्शन

काठमाडौँ – बंगलादेशको राजधानी ढाकास्थित भारतीय उच्चायोगको कार्यालय अगाडि बुधबार प्रदर्शन भएको छ । ‘जुलाई युनिटी’को ब्यानरमा आयोजित प्रदर्शनमा सयौँ मानिस सहभागी भएका छन् । प्रदर्शनकारीहरूले जुलाई २०२४ मा भएको आन्दोलनमा दमन गरेको आरोप लागेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतले बंगलादेशलाई सुम्पिनुपर्ने, बंगलादेशी आन्तरिक मामिलामा भारतीय हस्तक्षेप रोक्नुपर्ने लगायतका माग अघि सारेका थिए । ढाकाको गुलशनस्थित भारतीय उच्चायोगतर्फ अघि बढेको प्रदर्शनलाई प्रहरीले ब्यारिकेड लगाएर रोकेको बंगलादेशी समाचार संस्था द डेलीस्टारले जनाएको छ । प्रदर्शनकारीहरूले ब्यारिकेड पल्टाएर अघि बढ्न खोजेपछि प्रहरीसँग झडपसमेत भएको थियो । स्थानीय समयअनुसार दिउँसो ३:१५ बजे प्रदर्शन सुरु हुनुअघि प्रदर्शनकारीहरू रामपुरा पुल क्षेत्रमा भेला भएका थिए । अपराह्न ४ बजे उत्तर बड्डा पुगेपछि प्रहरीले थप ब्यारिकेड खडा गर्दै प्रदर्शनकारीलाई अघि बढ्न नदिएको थियो । त्यसपछि प्रदर्शनकारीहरूले सडकमै बसेर नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा ‘दिल्ली होइन, ढाका ढाका ढाका’ भन्ने नारा लगाइएको थियो । ढाकामा प्रदर्शन सुरु हुनुअघि नै भारतीय विदेश मन्त्रालयले दिल्लीस्थित बंगलादेशी उच्चायुक्तलाई बोलाएर ढाकामा रहेको आफ्नो कूटनीतिक नियोगको सुरक्षाबारे चासो व्यक्त गरेको थियो ।

पछिल्लो समय बंगलादेशमा भारतीय हस्तक्षेप बढेको आरोप लगाउँदै विभिन्न समूहहरूले विरोध चर्काउँदै आएका छन् । बंगलादेशमा सन् २०२४ को जुलाई–अगस्टमा आरक्षण (कोटा) प्रथाको विरोधमा विद्यार्थीहरूले सुरु गरेको आन्दोलन सरकारी दमन चर्किँदै गएपछि देशव्यापी बनेको थियो । उक्त आन्दोलनपछि शेख हसिनाको नेतृत्वमा रहेको सरकार ढलेको थियो । हसिना सत्ताच्युत भएपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइएको छ । जुलाई २०२४ को आन्दोलनका क्रममा १४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने तत्कालीन हसिना सरकारले अत्यधिक दमन गरेको आरोप लागेको छ । आन्दोलनपछि शेख हसिना भारतमा निर्वासनमा रहेकी छन् । ढाकाको अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएपछि बंगलादेश सरकारले भारतसँग हसिनालाई सुपुर्दगी गर्न औपचारिक आग्रह गरेको थियो । तर, भारतले ढाकामा विकसित घटनाक्रमलाई ‘नोटिसमा राखिएको’ मात्र प्रतिक्रिया दिएको छ।

प्रतिक्रिया दिनुहोस्