Skip to content

बैतडीमा जिल्ला कार्यसमितिले बेवास्ता गरेका नेता तेजबहादुर चन्दको नाम कांग्रेस केन्द्रीय कार्यालयमा

काठमाडौँ – नेपाली कांग्रेस सुदूरपश्चिमले प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीबाट प्रत्यक्षतर्फ सिफारिस गर्दा जिल्ला कार्यसमितिले बेवास्ता गरेका नेतामध्ये तेजबहादुर चन्दको नाम केन्द्रमा विशेष रुपमा सिफारिस गरेको छ।प्रदेश कार्यसमितिले जिल्ला कार्यसमिति बैतडीको सिफारिसमा नपरेका तेजबहादुर चन्द र उत्तरबहादुर ऐरको नाम केन्द्रीय कार्यसमिति समक्ष पठाएको हो। तर, लामो समयदेखि पार्टी संगठन र स्थानीय राजनीतिमा सक्रिय रहँदै आएका तेजबहादुर चन्दको नाम सिफारिस हुनु राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ। प्रदेश प्रवक्ता सुरतबहादुर रावतका अनुसार जिल्ला तहमा उम्मेदवार छनोट अवैधानिक र एकलौटी ढंगले गरिएको भन्दै तेज चन्दसहित दुई नेताले प्रदेश कार्यालयमा निवेदन दिएका थिए । ‘जिल्लामा विधि र परम्परा मिचेर आकांक्षी छनोट गरिएको गुनासोसहित आएको निवेदनलाई गम्भीरतापूर्वक लिँदै उहाँहरूको नाम केन्द्रमा सिफारिस गरिएको हो,’ रावतले भने।

तेजबहादुर चन्दसहित पाँच जना आकांक्षीले २० मंसिरमा संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला सभापति चतुरबहादुर चन्द पक्षका नेताहरूले सहमतिको प्रयास भइरहेकै बेला एकलौटी रुपमा उम्मेदवार छनोट गरेको आरोप लगाएका थिए। विज्ञप्तिमा लोकतान्त्रिक अभ्यास र पार्टीको परम्पराविपरीत चुनावी प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाइएको थियो ।

तेज चन्द पक्षधर नेताहरूले छलफल र सहमतिबाट उम्मेदवारको टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए। तर, जिल्ला कार्यसमितिले आन्तरिक निर्वाचन प्रक्रियामार्फत् उम्मेदवारको नाम टुंगो लगाउँदै सभापति चतुरबहादुर चन्द, विष्णुदत्त जोशी र जानकी भट्टको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको थियो।

प्रदेश तहबाट तेजबहादुर चन्दको नाम केन्द्रमा सिफारिस भएपछि अब केन्द्रीय कार्यसमितिको निर्णयले बैतडी कांग्रेसको उम्मेदवार चयनमा नयाँ मोड आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्