काठमाडौं — नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएको विषयमा नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले कडा टिप्पणी सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै बमले ओली अझै “जनताको कठघरामा उभिन बाँकी नै रहेको” बताएकी हुन् ।उनले एमालेको महाधिवेशनले भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता र निरंकुशतालाई अनुमोदन गरेको आरोप लगाएकी छन्। बमका अनुसार नेतृत्व चयनले जनताको विश्वास प्रतिनिधित्व नगरेको स्पष्ट सन्देश दिएको छ । फेसबुकमा लेख्दै उनले भनेकी छन्, “उनीहरूले पुनः भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता, निरंकुशतालाई अनुमोदन गरे। जनताको कठघरामा उभिएका होइनन्। जनताले विश्वास दिन त बाँकी नै छ। युवाहरूले आफ्नो आवाज भदौ २३ मा सुनाए। जनताले ब्यालेट बक्समा सुनाउने छन्।”
बमले नेतृत्वप्रति व्यंग्यात्मक टिप्पणी गर्दै तानाशाही प्रवृत्तिको आलोचना पनि गरेकी छन्। “तानाशाहलाई उसका आसेपासेले बलियो बनाइरहेका होलान्। आखिर उनीहरूले बादशाहको नयाँ पोसाकलाई उम्दा छ भन्नैपर्छ। तर भीड माझबाट चेतनशीलहरू, नडराएकाहरू बादशाह नांगो छ भन्दै छन्/भनिरहेकै छन्,” उनले लेखेकी छन् । उनले इतिहासको सन्दर्भ जोड्दै चेतावनीसमेत दिएकी छन्। “हिस्सेदारहरूले याद गरून्, प्रत्येक इतिहासले क्रूर तानाशाहलाई रिसाउँदै घृणाले नै पढेको छ,” बमको भनाइ छ । ओली तेस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएसँगै विभिन्न राजनीतिक समूह र युवासँग सम्बन्धित संगठनहरूबाट फरक–फरक प्रतिक्रिया आइरहेका छन्। रक्षा बमको यो टिप्पणीलाई युवा पुस्ताको असन्तुष्टि र राजनीतिक चेतनाको अभिव्यक्तिका रूपमा हेरिएको छ ।




प्रतिक्रिया दिनुहोस्