काठमाडौँ – नेकपा (एमाले) को ११ औँ महाधिवेशनपछि शुक्रबार पहिलो केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ । बैठक थापाथलीस्थित कार्की ब्याङ्क्वेटमा केहीबेर अघि मात्र सुरु भएको हो । राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरूले बिहीबार शपथ ग्रहण गरेका थिए । शपथपछि पार्टीको नयाँ कार्यकाल औपचारिक रूपमा सुरु भएको मानिन्छ । शुक्रबारको केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीका जिम्मेवारी बाँडफाँट तथा आगामी कार्य योजनाबारे छलफल हुने बताइएको छ ।
साथै, पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा पर्न सक्ने नेताहरूले बताएका छन् । एमालेको ११ औँ महाधिवेशनले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । नयाँ नेतृत्व र केन्द्रीय संरचनासँगै पार्टीलाई आगामी राजनीतिक चुनौतीहरू सामना गर्न थप सशक्त बनाउने दिशामा लैजान बैठकले महत्त्वपूर्ण भूमिका खेल्ने एमालेले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्