काठमाडौँ – नेपाली काँग्रेस बैतडीमा नेतृत्व सिफारिसलाई लिएर आन्तरिक विवाद चुलिँदै गएको छ। जिल्लाको तल्लोस्वराड क्षेत्र लामो समयदेखि केन्द्रस्तरीय राजनीतिक प्रतिनिधित्वबाट वञ्चित रहँदै आएको अवस्थामा पछिल्लो नाम सिफारिस प्रक्रियाले पार्टीभित्र असन्तोष बढाएको छ।
इतिहासतर्फ हेर्दा तल्लोस्वराड क्षेत्रबाट २०१७ सालमा द्वारिका देवी ठकुरानी र २०४८ सालमा कृष्णकुमार जोशीपछि केन्द्रस्तरमा प्रतिनिधित्व हुन सकेको छैन। यस्तो पृष्ठभूमिमा पार्टिभित्र सक्रिय युवा नेता तेजबहादुर चन्दले केन्द्रमा आफ्नो नाम सिफारिसका लागि औपचारिक रूपमा दाबी पेश गरेका थिए। तर जिल्ला सभापति चतुरबहादुर चन्दले प्रतिनिधिसभा निर्वाचनका लागि केवल आफ्नो नाम र विष्णु जोशीको नाम मात्र सिफारिस गरेपछि पार्टीभित्र असन्तुष्टि उत्पन्न भएको छ। यस निर्णयले अन्य इच्छुक नेताहरूलाई अवसर नदिइएको भन्दै कार्यकर्ताहरूले आपत्ति जनाएका छन्। पार्टी कार्यकर्ताहरूका अनुसार अन्य जिल्लाहरूमा इच्छुक नेताहरूको नाम समावेशी ढंगले सिफारिस भइरहेको अवस्थामा बैतडीमा सीमित नाम मात्र सिफारिस गर्नु लोकतान्त्रिक अभ्यास र पारदर्शितामाथि प्रश्न उठाउने विषय बनेको छ। विशेषतः युवा पुस्ताको प्रतिनिधित्वको माग उठिरहेका बेला तेजबहादुर चन्दको नाम सिफारिस नहुनुले युवामाझ निराशा फैलिएको उनीहरूको भनाइ छ ।
यस विषयमा पार्टीभित्र छलफल र पुनर्विचारको माग बढ्दै गएको छ । कार्यकर्ताहरूले सन्तुलित, समावेशी र पारदर्शी निर्णयमार्फत पार्टीको एकता कायम राख्न नेतृत्वलाई आग्रह गरेका छन् । यसैबीच नेपाली काँग्रेसका प्रदेश प्रवक्ता सुरतबहादुर रावतका अनुसार जिल्ला तहमा उम्मेदवार छनोट अवैधानिक र एकलौटी ढंगले गरिएको भन्दै तेज चन्दसहित दुई नेताले प्रदेश कार्यालयमा निवेदन दिएका थिए । ‘जिल्लामा विधि र परम्परा मिचेर आकांक्षी छनोट गरिएको गुनासोसहित आएको निवेदनलाई गम्भीरतापूर्वक लिँदै उहाँहरूको नाम केन्द्रमा सिफारिस गरिएको हो,’ रावतले भनेका थिए । बैतडी काँग्रेसका लागि आगामी निर्वाचनमा संगठन विस्तार र जनसमर्थन बढाउन युवा नेतृत्वको सहभागिता अपरिहार्य रहेको बताइन्छ । यदि नाम सिफारिससम्बन्धी विवाद समयमै समाधान हुन नसके पार्टीको एकता, विश्वास र लोकप्रियतामा नकारात्मक असर पर्न सक्ने चेतावनी कार्यकर्ताहरूले दिएका छन् । तल्लोस्वराड क्षेत्रको नेतृत्व विवाद केवल व्यक्तिगत असन्तुष्टिमा सीमित नभई नेपाली काँग्रेसको लोकतान्त्रिक मूल्य, संगठनात्मक एकता र युवा सहभागितासँग प्रत्यक्ष रूपमा जोडिएको विषय बनेको छ। पार्टी नेतृत्वले समावेशी र सन्तुलित निर्णय लिएमा विश्वास पुनःस्थापना र दीर्घकालीन मजबुती हासिल गर्न सकिने विश्लेषकहरूको धारणा छ ।




प्रतिक्रिया दिनुहोस्