चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध मुद्दा लगाउने सरकार अपदस्त भई हेलिकप्टरमा झुन्डिएर भाग्नुपरेको टिप्पणी गरेका छन् । शनिबार चितवनमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले सरकार ढले पनि आफूमाथि लगाइएका ‘झुटा मुद्दा’ भने अझै समाप्त नभएको बताएका हुन् । लामिछानेले लामो समय कारागारमा बस्नुपरेको उल्लेख गर्दै भने, “मलाई धेरै कुरा भन्नु छ, तर धेरै भन्नु पनि छैन । किनकि म लामो समय कारागारमा बसेँ । ममाथि लगाइएका मुद्दाहरूको सिलसिला सकिएको छैन । मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे । तिनले झुन्ड्याएको मुद्दा यो शरीरमा बोकेर बाँचेको छु, तर मलाई केही फरक पर्दैन ।”
उनले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा स्वार्थ नचाहिएको स्पष्ट पार्दै देश परिवर्तनका लागि संघर्ष आवश्यक रहेको बताए। “यो देशको परिवर्तनका लागि कसै न कसैले लड्नै पर्छ, हामी लड्छौं,” उनले भने । सभापति लामिछानेले जेन–जी आन्दोलनको एजेण्डालाई अहिलेको सरकारले आत्मसात् गरे जनताको समर्थन प्राप्त हुने दाबी पनि गरे । अघिल्ला सरकारहरूले आफूप्रति प्रतिशोध साँधेको आरोप लगाउँदै उनले भने, “ढुक्क हुनुहोस्, मबाट प्रतिशोधपूर्ण राजनीति हुँदैन । जेन–जीले जेका लागि बलिदानी दिएको थियो, त्यसमा अडिग बन्यो भने अहिलेको सरकारलाई हामी सघाउनेछौं ।” उनले रास्वपा ‘सतिसाल’ बनेर खडा हुने दाबी गर्दै प्रधानमन्त्रीसँग पनि भेट गर्ने बताएका छन्। “म काठमाडौं गएर प्रधानमन्त्रीज्यूलाई पनि भेट्नेछु,” उनले भने । लामिछानेले भदौ २३ गते मानिस मार्ने घटनाविरुद्ध जनता सडकमा उत्रिएको स्मरण गराउँदै त्यसबेला सरकारमा रहेका व्यक्तिहरूले २३ गतेको घटनालाई बेवास्ता गर्दै २४ गतेको मात्र चर्चा गरिरहेको आरोप लगाए ।




प्रतिक्रिया दिनुहोस्