Skip to content

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो राजनीतिक र कानुनी लडाइँ अझै जारी रहेको र अन्तिम विजय हुन बाँकी नै रहेको बताएका छन् । शनिबार काठमाडौं आइपुगेपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल बाहिर उपस्थित समर्थकहरूलाई सम्बोधन गर्दै उनले यो संघर्ष व्यक्तिगत स्वार्थका लागि नभई देश र सिङ्गो पुस्तामाथि भएको अन्यायविरुद्धको लडाइँ भएको स्पष्ट पारे ।

लामिछानेले आफू केवल एउटा चुनाव जित्नका लागि राजनीतिमा नआएको उल्लेख गर्दै नयाँ पुस्ताको भविष्य सुरक्षित गर्नका लागि राजनीतिक यात्रामा होमिएको दाबी गरे। “यो लडाइँ मेरो मात्र होइन, देशको भविष्यका लागि हो,” उनले भने ।

संबोधनका क्रममा उनले अपदस्थ भइसकेका व्यक्तिहरूलाई गालीगलौज गरेर समय खेर नफाल्ने बताए। पुराना नेताहरूलाई इतिहासको कुनामा कसरी संरक्षित र सम्मानित रूपमा राख्ने भन्ने विषयमा आफू केन्द्रित रहेको उल्लेख गर्दै उनले त्यो सम्मानित स्थानमा बस्ने वा नबस्ने भन्ने कुरा उनीहरूकै अभिव्यक्ति र क्रियाकलापमा निर्भर रहने टिप्पणी गरे । लामिछानेले अब सबै नयाँ राजनीतिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै खरानी बनाइएका युवाहरूका सपना पूरा गर्न साझा प्रयास आवश्यक रहेको बताए । “नयाँ शक्तिहरू अब मिल्नुपर्छ, एकै ठाउँमा आउनुपर्छ,” उनले जोड दिए । हरेक आन्दोलनमा सुरक्षाकर्मीहरू समेत घाइते हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले उनीहरूको पक्षमा समेत न्याय र सहयोगका लागि काम गर्नुपर्ने धारणा राखे। आफूमाथि धेरै मुद्दाहरू रहेको स्वीकार गर्दै लामिछानेले भने, “मेरो सास रहुञ्जेल न्यायका लागि लडिरहनेछु ।” विमानस्थलमा ठूलो सङ्ख्यामा उपस्थित समर्थकहरूका बीच उनले आफ्नो राजनीतिक यात्रा र कानुनी संघर्षलाई अझ सशक्त ढङ्गले अगाडि बढाउने संकेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्