काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्न अझै बाँकी रहेको बताएका छन् । नख्खु कारागारबाट धरौटीमा रिहा भएपछि आइतबार पहिलो पटक केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित कार्यक्रममा समर्थकहरूलाई सम्बोधन गर्दै उनले जेनजीको विद्रोहलाई रास्वपाले नै क्रान्तिमा बदल्ने जिकिर गरे । ‘विद्रोह भएको छ, त्यसलाई क्रान्तिमा बदल्न बाँकी छ। सिंहदरबार त बनाउँला तर त्यसलाई बदल्नुछ। जेनजीको विद्रोहलाई हामीले रूपान्तरण गर्न बाँकी छ,’ उनले भने । लामिछानेले आफू अनुपस्थित रहँदा पनि पार्टीलाई जोगाइराखेको भन्दै कार्यवाहक सभापति डोलप्रसाद अर्यालप्रति आभार व्यक्त गरे। ‘चारैतिरबाट आक्रमण भइरहेको अवस्थामा पार्टी जोगाउनु चानचुने कुरा होइन । मेरो अनुपस्थितिमा पार्टीलाई अझै उत्साह र एकताबद्ध बनाएकोमा डिपी अर्याललाई धन्यवाद दिन्छु,’ उनले भने । आफूमाथि जिल्लैपिच्छे मुद्दा लगाइए पनि विश्वास नटुटेको उल्लेख गर्दै उनले सत्य कहिल्यै नहार्ने विश्वास लिएको बताए। ‘मसँग सास रहुन्जेल विश्वास बाँकी रहन्छ,’ लामिछानेले भने । लामिछाने केन्द्रीय कार्यालय पुग्ने क्रममा पार्टीका नेताहरू, समर्थक तथा शुभचिन्तकहरूले बाजागाजा सहित भव्य स्वागत गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्