दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिकामा गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा उद्घाटन गरिएको छ । पालिकाको वडा नम्बर–४ स्थित सम्तेलीचौर खेलमैदानमा आयोजित औपचारिक समारोहबीच प्रतियोगिताको उद्घाटन गरिएको हो । अपिहिमाल गाउँपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर–३ का अध्यक्ष गगन सिंह कार्कीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।
कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नम्बर–४ का अध्यक्ष रविन्द्र सिंह बोहरा, वडा नम्बर–२ का अध्यक्ष राम सिंह धामी, वडा नम्बर–५ का अध्यक्ष राजेन्द्र सिंह धामी, जिल्ला खेलकुद समिति कार्यालय प्रमुख श्यामराज अवस्थीलगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, गाउँ तथा वडा शिक्षा समितिका पदाधिकारी, खेलकुद विकास समितिका सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, खेलप्रेमी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा शिक्षा शाखा प्रमुख वीरेन्द्र सिंह साउदले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत मदनराज जोशीले गरेका थिए । प्रतियोगितामा १८ वर्षमुनिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत छात्र तथा छात्रा भलिबल, कबड्डी र एथ्लेटिक्सतर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर ट्रयाक दौड सञ्चालन गरिनेछ ।
त्यसैगरी ४×१ सय मिटर र ४×४ सय मिटर रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो र सटपुट प्रतियोगिता पनि सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । ज्याभलिन थ्रोतर्फ छात्रको ८ सय ग्राम र छात्राको ६ सय ग्राम तथा सटपुटतर्फ छात्रको १२ पाउण्ड र छात्राको ८ पाउण्डको प्रयोग गरिने बताइएको छ । गाउँपालिकाका अनुसार प्रतियोगिता पर्सी पौष ८ गतेसम्म सञ्चालन हुनेछ ।




प्रतिक्रिया दिनुहोस्