Skip to content

रक्सी पसलभित्र चल्यो अन्धाधुन्ध गोली, ९ जनाको मृत्यु

दक्षिण अफ्रिकाको जोहन्सबर्ग नजिकैको एउटा सहरमा अन्धाधुन्ध गोली चलेको छ । बेकर्सडाल टाउनसिपमा रहेको एउटा रक्सी पसलभित्रै छिरेर एक समूहले गोली चलाउँदा ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आइतबार मध्यराति १ बजे एउटा गाडीमा आएका बन्दुकधारीहरूले मदिरा पिउँदै बसेका व्यक्तिहरूमाथि गोली चलाएका थिए । घटनामा १० जना घाइते भएका छन् ।  गोली चलेपछि भागेका केही मानिसहरूलाई लखेटी लखेटी बन्दुकधारीहरूले गोली हानेका थिए ।

घाइतेहरूलाई विभिन्न स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ । गोलीकाण्डको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रोयटर्सका अनुसार बेकर्सडाल रहेको र्‍याण्ड वेस्ट सिटी बेरोजगारी र गरिबीले प्रभावित मानिन्छ। सो क्षेत्र सुन खानी उद्योग पतन भएपछि आर्थिक संकटले ग्रस्त बनेको स्थानीय सरकारको वेबसाइटमा उल्लेख छ । अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने दक्षिण अफ्रिकामा दैनिक झण्डै ६० जनासम्म हत्या हुने आँकडा छ । यसले देशमा बढ्दो अपराधको स्थिति झल्काएको भनेर पनि रोयटर्सले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्