काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियमित महाधिवेशनका प्रक्रिया नियतवश अवरुद्ध गरिए विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने स्पष्ट पारेका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले तोकिएको समयमा नियमित महाधिवेशन हुन नसके देशभरिका प्रतिनिधिहरूको हस्ताक्षरसहितको मागअनुसार विशेष महाधिवेशन गरिने बताएका हुन्। उनले महाधिवेशन कुनै हालतमा नरोकिने जिकिर गरे । “देशभरिका साथीहरूले विशेष महाधिवेशन हुनुपर्छ भनेर आह्वान गरिरहनुभएको छ। यदि महाधिवेशन अवरुद्ध गर्ने काम भयो भने केही दिनभित्रै देशभरिका साथीहरू काठमाडौं आएर विशेष महाधिवेशन गराउनेतर्फ लाग्ने अवस्था बन्छ,” थापाले भने, “विशेष महाधिवेशनले भए पनि एउटा ठोस परिणाम निकाल्छ ।”
महामन्त्री थापाले महाधिवेशनको कुनै विकल्प नरहेको भन्दै पार्टी समयमै निर्णयमा पुग्नुपर्ने धारणा राखे । “अब हामीले गरेनौं, भ्याएनौं भन्न मिल्दैन। नागरिकका बीचमा जाँदा हाम्रो स्पष्ट पोजिसन के हो भन्ने थाहा हुनुपर्छ। त्यसका लागि महाधिवेशन अनिवार्य छ,” उनले बताए । उनले प्रमुख प्रतिपक्षी दल एमालेले चुनौतीपूर्ण परिस्थितिमा पनि महाधिवेशन सम्पन्न गरेर सकारात्मक सन्देश दिएको उल्लेख गरे। “एमालेका नीति र तरिकासँग असहमति हुन सक्छ, तर उसले अधिवेशन गरेर आएको तथ्यलाई स्वीकार गर्नुपर्छ,” थापाले भने । महामन्त्री थापाले वडादेखि माथिसम्मका अधिवेशन तोकिएकै समय आसपासमा हुने उल्लेख गर्दै एक–दुई दिन तलमाथि हुन सक्ने बताए। तर, महाधिवेशन भने जसरी पनि सम्पन्न हुने उनको भनाइ छ । “या त नियमित महाधिवेशन सरासर अगाडि बढ्छ, या विशेष महाधिवेशन हुन्छ,” उनले जोड दिए, “महाधिवेशनविनै नेपाली कांग्रेस निर्वाचनमा जाँदैन, जानु हुँदैन।” महामन्त्री थापाको यो अभिव्यक्तिले कांग्रेसभित्र समयमै महाधिवेशन सम्पन्न गर्न दबाब बढ्दै गएको संकेत गरेको छ ।





प्रतिक्रिया दिनुहोस्