दार्चुला – दुर्गम क्षेत्र मानिने अपिहिमाल गाउँपालिकाको अपिहिमाल बेसक्याम्प पछिल्लो एक वर्षमै आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ । एक वर्षको अवधिमा झण्डै ५ हजार पर्यटक अपिहिमाल बेसक्याम्प पुगेको तथ्याङ्कले दुर्गम पर्यटनको ठूलो सम्भावना देखाएको छ । अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार, दुर्गम गन्तव्यका लागि एक वर्षमै ५ हजार पर्यटक पुग्नु निकै उत्साहजनक उपलब्धि हो । “यो संख्या अझै बढ्दै जानेमा हामी आशावादी छौं । पर्यटन विकाससँगै स्थानीय आर्थिक गतिविधि पनि उल्लेखनीय रूपमा बढ्नेछ,” उनले भने । अध्यक्ष बोहराका अनुसार हाल गाउँपालिकामा स्थायी रूपमा बसोबास गर्ने जनसंख्या करिब २ देखि ३ हजार मात्रै छ । अधिकांश नागरिक रोजगारी र शिक्षाका कारण काठमाडौँ, धनगढी जस्ता शहरी क्षेत्रमा बसोबास गरिरहेका छन् । “आर्थिक गतिविधि बढाउन जनसंख्या आवश्यक पर्छ, तर हामीसँग प्रकृतिले दिएको अमूल्य सम्पदा छ,” उनले भने । अपिहिमाल क्षेत्रमा ६ हजार मिटरभन्दा माथिका १६ वटा हिमाल, धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरू र प्रशस्त प्राकृतिक स्रोतहरू रहेका छन् । “यी सम्भावनालाई सही ढंगले प्रवर्द्धन गर्न सक्यौं भने अझ धेरै पर्यटक भित्र्याउन सकिन्छ,” अध्यक्ष बोहराले भने । उनका अनुसार हाल भित्रिएका करिब ५ हजार पर्यटकबाट मात्रै पनि ४ देखि ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको अनुमान गरिएको छ । पर्यटकले थोरै खर्च गरे पनि समग्र आर्थिक गतिविधिमा ठूलो प्रभाव पर्ने उनले बताए । अपिहिमाल बेसक्याम्पको बढ्दो आकर्षणले दुर्गम क्षेत्रमै रोजगारी, व्यवसाय र विकासका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्