Skip to content

देशभर १० लाखभन्दा बढी मतदाता थपिए, दर्ता भएका दलको संख्या ११४ पुग्यो

 

काठमाडौँ – देशभर प्रतिनिधिसभा निर्वाचनका लागि १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। सोमबार सिंहदरबारमा जारी आसन्न प्रतिनिधिसभा निर्वाचनसम्बन्धी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगले यो जानकारी दिएको हो । निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ११४ वटा राजनीतिक दल दर्ता भइसकेका छन् । गत २०७९ सालको निर्वाचनमा ८७ दल मात्रै दर्ता भएकामा यसपटक दलको संख्या उल्लेखनीय रूपमा बढेको छ। दल संख्या बढेसँगै निर्वाचनमा प्रतिस्पर्धा पनि बढ्ने अनुमान गरिएको आयोगको भनाइ छ । आयोगले निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्री पहिचान गरिसकेको छ। तीमध्ये ३७ प्रकारका सामग्री जिल्लास्तरबाटै खरिद गरिने र बाँकी १४ प्रकारका सामग्री आयोगले केन्द्रबाट खरिद गरी उपलब्ध गराउने व्यवस्था गरिएको छ । मतपेटिका र मसी पर्याप्त मौज्दातमा रहेकाले ती सामग्री खरिद गर्नुपर्ने अवस्था नरहेको आयोगले जनाएको छ । आवश्यकताका आधारमा पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्याम्प प्याड, स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची लगायतका सामग्री मात्र खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको छ । आयोगका अनुसार निर्वाचनलाई मितव्ययी र स्रोतको बचत हुने गरी सम्पन्न गर्ने तयारी भइरहेको छ। मतदाता नामावलीको अन्तिम सूची पुस १५ गते तयार हुने बताइएको छ । हाल थपिएका मतदाताको संख्या कुल मतदाताको ५.६५ प्रतिशत वृद्धि हो । यसैबीच आयोगले निर्वाचन पर्यवेक्षणका लागि पहिलो चरणको अनुमति दिइसकेको जनाएको छ। मुलुकभर निर्वाचनको अनुकूल वातावरण बनाउन सुरक्षा निकाय र सरकारसँग निरन्तर छलफल तथा परामर्श भइरहेको आयोगले स्पष्ट पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्