मकवानपुर — बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको लगानीमा निर्माण गरिएको चित्लाङ भ्यु टावर औपचारिक रूपमा उद्घाटन गरी थाहा नगरपालिकालाई हस्तान्तरण गरिएको छ । थाहा नगरपालिका–९, चित्लाङमा आयोजित विशेष समारोहमा बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथि तथा संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले चित्लाङ क्षेत्र पर्यटन, वातावरण र प्राकृतिक सौन्दर्यसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण गन्तव्य भएको उल्लेख गरे । प्रदेश सरकारले यस क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न निरन्तर लगानी गर्दै आएको उनले बताए । “पर्यटन विकासको आधार पूर्वाधार हो,” मुख्यमन्त्री बानियाँले भने, “पर्यटकीय क्षेत्र बनाउन आवश्यक संरचना, पहुँच र व्यवस्थापन बिना पर्यटन सम्भव हुँदैन। त्यसैले प्रदेश सरकारले योजनाबद्ध रूपमा लगानी गरिरहेको छ।”
चन्द्रागिरीसम्मको पहुँच सहज भइसकेको सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले अब चित्लाङसम्म आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी निर्माण गरिएका संरचनाको प्रभावकारी व्यवस्थापन तत्काल आवश्यक रहेको बताए। पर्यटन पूर्वाधारको प्रभावकारिता मूल्यांकन गर्दै व्यावहारिक सञ्चालनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । संविधानले व्यवस्था गरेको तीन तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको मर्मलाई स्मरण गराउँदै मुख्यमन्त्री बानियाँले केन्द्र, प्रदेश र स्थानीय सरकार सबै जनताका प्रतिनिधि भएकाले साझा लक्ष्यका लागि मिलेर काम गर्नुपर्ने बताए। थाहा नगरपालिकालाई संरचना हस्तान्तरण गर्न पाउँदा खुशी व्यक्त गर्दै उनले आवश्यक परे प्रदेश सरकारले थप लगानी गर्न पनि तयार रहेको स्पष्ट पारे । मुख्यमन्त्री बानियाँले थाहा नगरपालिका राजनीतिक चेतना, सामाजिक जागरण तथा गरिब, दुःखी र असहायको पक्षमा उभिने पहिचान बोकेको क्षेत्र भएको उल्लेख गरे। यस क्षेत्रलाई बागमती प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।
आगामी वर्ष दामन, टिस्टुङ र पालुङ क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै पर्यटन र प्रकृतिसँग जोडेर व्यवसायिक रूपमा प्रवर्द्धन गरिने योजना रहेको जानकारी दिँदै उनले संस्कृति तथा पर्यटन मन्त्रालयसँग समन्वय गरी कार्यक्रम अघि बढाइने बताए । प्रदेश सरकारको लगानी नीतिबारे प्रष्ट पार्दै मुख्यमन्त्री बानियाँले सहकार्यमा आधारित मोडेल अपनाइएको जानकारी दिए। “पर्यटन क्षेत्रमा स्थानीय तह वा निजी क्षेत्रले ३० प्रतिशत लगानी गरे प्रदेश सरकारले ७० प्रतिशतसम्म लगानी गर्न तयार छ,” उनले भने, “तपाईंहरूले तीन करोड लगानी गर्नुभयो भने प्रदेश सरकारले सात करोडसम्म लगानी गर्नेछ ।” उनले पर्यटन विकास सबैका लागि साझा आवश्यकता भएको उल्लेख गर्दै विकासका विषयमा अनावश्यक राजनीति नगर्न आग्रह गरे। “चुनावमा फरक मत हुन सक्छ, तर विकासमा अवरोध र राजनीति गर्नु हुँदैन,” उनले भने । कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चित्लाङ क्षेत्रको पर्यटन सम्भावना उल्लेख गर्दै प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माण र प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । चित्लाङ भ्यु टावर उद्घाटनसँगै यस क्षेत्रको पर्यटन गतिविधि थप विस्तार हुने र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस्