काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी महाधिवेशनमा महामन्त्री पदमै उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार धुम्बाराहीमा आयोजित पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले उक्त घोषणा गरेका हुन् । पौडेलले १४औँ महाधिवेशनमा पनि महामन्त्री पदमा उम्मेदवारी दिएको स्मरण गर्दै त्यसबेला सफलता हासिल गर्न नसकेको बताए । तर एकपटक महामन्त्री पदमा प्रतिस्पर्धा गरिसकेपछि अब सोभन्दा तलको पदमा जाने अवस्था नरहेको उनको भनाइ छ । साथै, महामन्त्रीभन्दा माथिको जिम्मेवारीमा पुग्ने परिस्थिति पनि हाल नबनेको उल्लेख गर्दै उनले आफूलाई पुनः महामन्त्री पदमै प्रस्तुत गर्ने निर्णय गरेको स्पष्ट पारे । उनले पार्टीभित्रबाट पनि आफूलाई महामन्त्रीमै उम्मेदवारी दिन सुझाव आएको जानकारी दिए । धेरै साथी तथा सहकर्मीहरूले समेत यही पदमा पुनः प्रतिस्पर्धा गर्न आग्रह गरेको भन्दै पौडेलले आफ्नो निर्णय त्यही अनुसार अघि बढेको बताए ।





प्रतिक्रिया दिनुहोस्