काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटकको निर्वाचनमा आफू उम्मेदवार नबनी देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको साथमा रहने घोषणा गरेका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शर्माले आगामी निर्वाचन नलड्ने निर्णय सार्वजनिक गरेका हुन् । उनले नेपाली राजनीतिमा जीवनभर एउटै क्षेत्र कब्जा गर्ने, हारे पनि क्षेत्र नछाड्ने र सास रहेसम्म मन्त्री बन्ने सोच हावी रहेको उल्लेख गर्दै यस्तो प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको धारणा राखे । शर्माका अनुसार निरन्तर एउटै व्यक्तिले उम्मेदवार बन्ने अभ्यासले पार्टीभित्र नयाँ नेतृत्व र युवालाई अवसर दिन कठिन बनाएको छ । आफू लगातार तीन पटक उम्मेदवार भइसकेकाले यसपटक उम्मेदवार नबनी अन्य साथीहरूलाई अघि सार्ने प्रस्ताव आफूले क्षेत्रमै गएर गरिसकेको जानकारी पनि उनले बैठकमा गराएका छन् । गत निर्वाचनमा आफू आफ्नो क्षेत्रमा सीमित रहेको उल्लेख गर्दै यसपटक देशभर पार्टीका उम्मेदवारहरूको पक्षमा सक्रिय रूपमा खटिने प्रतिबद्धता शर्माले व्यक्त गरे । साथै उनले आगामी चुनावमा अनुहार परिवर्तन गर्दै बढीभन्दा बढी युवा र नयाँ व्यक्तिहरूलाई अवसर दिनुपर्ने आवश्यकता औंल्याए ।
नेपाली कांग्रेसले शर्मालाई झापा–१ बाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको भए पनि उनले उक्त सिफारिसप्रति धन्यवाद व्यक्त गर्दै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएका हुन् । शर्माले झापामा हालै सम्पन्न क्षेत्रीय भेलामै इच्छुक नेताहरूलाई खुलेर दाबी प्रस्तुत गर्न आग्रह गरेको जानकारी पनि पार्टी बैठकमा दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्